१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पुल निर्माण हुन थालेपछि स्थानीयवासीमा खुशी



चैत २२, बेझाड । कालीगण्डकीको गौरीघाटमा पुल निर्माण कार्य दु्रत गतिमा भइरहेकाले रामपुर र चापाकोट क्षेत्रका स्थानीयवासी खुशी भएका छन् ।

पाल्पा रामपुर नगरपालिका ६ र स्याङ्जा चापाकोट नगरपालिका–७ जोड्ने यो पुल जेभी काठमाडौंको डिजाइनमा सपना हिमदुङ्ग एण्ड थोकर निर्माण कम्पनीले निर्माण गरिरहेको छ ।

तीन वर्षमा सम्पन्न गर्ने गरी सो पुल विसं २०७२ फागुन १६ गते शिलान्यास भएको थियो । १७४ मिटर लम्बाइ, आठ मिटर चौडाइ रहेको सो पक्की पुल नेपाल सरकारको १५ करोड ११ लाखको लागतमा निर्माण हुँदैछ ।

कालीगण्डकी वेशी क्षेत्रमै गुणस्तरीय, नमूना र तीव्र गतिमा पुल निर्माणको काम भइरहेको निर्माण कम्पनीका प्रतिनिधि एवं चापाकोट नगरपालिका–७ का अध्यक्ष एकदेव भट्टराई बताउछन् ।

पुल निर्माणको काम ९० प्रतिशत सकिएको छ । “यो महीनाभित्र सम्पन्न गर्ने गरी काम धमाधम भइरहेको छ, फागुनभित्रमा सम्पन्न गर्ने भनिएपनि प्राविधिक कारणले सम्पन्न गर्न कठिनाई भएपछि एक महीना पुल निर्माण कार्य लम्बिन पुगेको छ” उनले भने ।

नयाँ वर्ष शुरुआतसँगै पुल सञ्चालनमा आउने पुल निर्माण समितिका उपाध्यक्ष एवं रामपुर नगरपालिका–६ का वडाध्यक्ष हुमनाथ न्यौपानेले बताए । पुलबाट सहज र सुरक्षित रुपमा यात्रा गर्न सकिने र गाउँघरमा उत्पादित कृषिजन्य सामग्री गाडीमा ओसारपसार गर्न सजिलो हुने भएपछि यस क्षेत्रका स्थानीयवासी खुसी भएका हुन् ।

पाल्पाको रामपुर नगरपालिका, निस्दी गाउँपालिका, स्याङजाको चापाकोट नगरपालिका लगायतका स्थानीयवासी यस पुलबाट प्रत्यक्ष लाभान्वित हुनेछन् । नमूनाकै रुपमा छिटो छरितो पुल निर्माण भएको देख्दा रमाइलो लागेको रामपुर नगरपालिका–६ का स्थानीयवासी कृष्णकुमार अर्याल बताउछन् । रासस

प्रकाशित मिति : २२ चैत्र २०७५, शुक्रबार ००:००