२ पुस २०८२, बुधबार | Thu Dec 18 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अर्मादी–बनौ सडकमा कालोपत्रे शुरु



 

कात्तिक १५, पर्वत । कुश्मा नगरपालिका २ अर्मादिस्थित मध्यहाडी लोकमार्ग देखि जलजला गाउँपालिकाको वडा नं ९ बनौ जोड्ने अर्मादी–बनौ सडक कालोपत्रे शुरु भएको छ ।

कुश्मा नगरपालिकाका दुई र जलजला गाउँपालिकाको एक वडालाई जोड्ने गरी एशियाली विकास बैंकको ८० प्रतिशत र नेपाल सरकारको २० प्रतिशत लगानीमा कालोपत्रे हुन लागेको हो । झण्डै १२ किलोमिटर लामो सडकको आगामी दुई वर्षभित्र कालोपत्रे सम्पन्न हुने भएको छ ।

झण्डै ३० करोडको लागतमा निर्माण सम्पन्न हुने सडकको टुण्डी कन्ट्रक्सन प्रालि सानेपा ललितपुरले निर्माणको जिम्मा लिएको छ । जलजला गाउँपालिका ९ का अध्यक्ष गौबहादुर पुर्जाले नियमित अनुगमन र निगरानी गरेर सडक समयमै र गुणस्तरीय बनाउन पहल गर्ने बताए ।

पर्वतका दोविल्ला–फलेवास, मुडिकुवा–लुङ्खु सडक पनि कालोपत्रे हुने चरणमा छन् । दोविल्ला–फलेवास र मुडिकुवा–लमाए सडकको अधिकांश भाग कालोपत्रे भइसकेको छ भने लमाए–लुङ्खु सडक पनि कालोपत्रेको चरणमा रहेको छ ।

आगामी दुई वर्षभित्रमा दुवै सडक कालोपत्रे सम्पन्न गर्ने गरी काम शुरु भइसकेको ग्रामीण सडक सञ्जाल सुधार आयोजना पर्वतका कार्यालय प्रमुख जगदीश शर्माले जानकारी दिए ।
रासस

प्रकाशित मिति : १५ कार्तिक २०७५, बिहिबार ००:००