१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

देशभर ८० प्रतिशत पुल निर्माण सम्पन्न



सञ्चिता घिमिरे

चैत १९, काठमाडौं । सरकारले चालु आवभित्रमा निर्माण सम्पन्न गर्ने लक्ष्य लिएकामध्ये ८० प्रतिशत पुल निर्माण सम्पन्न भएका छन् । चालू आवमा १२० पुल सम्पन्न गर्ने लक्ष्य लिइएकामा गत फागुनसम्ममा ९४ पुल निर्माण सम्पन्न भएका छन् ।

निर्माणाधीन सडक, पुल तोकिएको अवधिमा नै सम्पन्न हुने भौतिक योजना तथा यातायात मन्त्रालयका प्रवक्ता शिवहरि सापकोटाले बताए । विभिन्न राजमार्गमा र स्थानीय सडकमा पुलको निर्माण भइरहेको प्रवक्ता शिवहरि सापकोटाले बताए ।

उनका अनुसार यसवर्ष कतिपय पुल समयभन्दा पहिले नै सम्पन्न भइरहेका छन् । उनले भने, “पुल निर्माणका क्रममा कुनै समस्या भए त्यो हटाएर चाँडो काम सम्पन्न गराउन हामी लागेका र्छौँ ।” आगामी वर्षमा कम्तीमा दुई सय पुलको निर्माण सम्पन्न गर्ने योजना बनाइने प्रवक्ता सापकोटाले बताए ।

उनका अनुसार मन्त्रालयले आगामी वर्षको कार्यक्रम बनाउने क्रममा सडक पुललाई प्राथमिकता दिनेछ । बजेट व्यवस्थापन हुन सके तीन सयसम्म पुल योजनामा पारिने उनले जानकारी दिए । विगतका वर्षहरुमा वार्षिक ५० ६० वटा मात्रै पुल निर्माण हुने गरेको मन्त्रालयले जनाएको छ । चालु आवमा देशभरका झण्डै आधादर्जन सडकमा पर्ने पक्की पुल ठेक्का सम्झौतामा तोकिएको अवधिभन्दा पहिले नै सम्पन्न भएको मन्त्रालयले जनाएको छ ।

काम गर्ने ठाउँमा अवरोध नहुँदा र ठेकेदारले नियमित रुपमा काम गर्दा यी पुलको निर्माण समयभन्दा पहिले सम्पन्न भएको हो । सिन्धुली जिल्लामा रहेको कमला नदी पुल, मरिण नदी पुल, सुर्खेतको भेरी नदी पुल, जयरामघाट नदी पुल लयायतका विभिन्न स्थानमा रहेका पुल तोकिएको अवधिभन्दा पहिले सम्पन्न भएका मन्त्रालयका प्रवक्ता सापकोटाले बताए ।

उनका अनुसार काम गर्न ठाउँ खाली हुँदा र ठेकेदारले पनि नियमित काम गर्दा यी पुलको निर्माण तोकिएको समयमै वा त्यो भन्दा अघि सम्पन्न भएको छ । समयमा सम्पन्न हुँदा त्यसले स्थानीयवासीको जीवन सहज बनाउने प्रवक्ता सापकोटाले बताए । उनले भने, “सडक पुल बनेपछि सडक आवागमनमा सहज हुनुको साथै स्थानीय उत्पादनले बजार पाएका छन् ।” सरकारले ठेकेदारमार्फत काम गराउँदा सम्झौता अवधिमा सकिँदैन भन्ने आमधारणा रहेपनि यी योजनाले यसलाई गलत प्रमाणित गरिदिएको प्रवक्ता सापकोटाले बताए ।

सडक विभागले ठेकेदारमार्फत गरेका काम समयमा भए नभएको मन्त्रालयले समेत अनुगमन गरिरहेको उनले बताए । उनले भने, “हामीले पुल निर्माणमा भएका अवरोध हटाएर समयमा काम गर्न भनिरहेका थियौँ ।” पुलमा नयाँ प्रविधि भित्रिनु पनि उपलब्धिका रुपमा रहेको मन्त्रालयले जनाएको छ ।

काठमाडौंकै धोबीखोला र वाग्मती खोलामा नयाँ प्रविधिका पुल निर्माण भइरहेका छन् । ‘नेटवर्क आर्क ब्रिज’ भनिने प्रविधि हेर्दा पनि राम्रो देखिने उनले बताए । उनले भने, “अरु देशमा पहिलेदेखि नै रहेको प्रविधि हाम्रो देशमा पनि शुरु हुनु उपलब्धि हो ।”

सडक, पुल मात्रै नभएर झोलुङ्गे पुल निर्माण तीव्रगतिमा भइरहेको छ । गतवर्ष देशभरमा गरेर ४१७ झोलुङ्गे पुलको निर्माण सम्पन्न भएका थिए । प्रधानमन्त्री केपी शर्मा ओली पहिलोपटक प्रधानमन्त्री हुँदा शुरु गरेको ‘तुइन विस्थापन कार्यक्रम’ले तुइन वा अन्य माध्यमबाट जोखिमपूर्णयात्रा गर्न विवश जनतालाई झोलुङ्गे पुलको निर्माणले सुरक्षित र भरपर्दो यात्रा गर्न तथा उत्पादित वस्तुको बजारीकरणमा सहयोग पुगेको छ । रासस

प्रकाशित मिति : १९ चैत्र २०७५, मंगलबार ००:००