१६ मंसिर २०८२, सोमबार | Mon Dec 1 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

दुई स्थानीय तहका वडाको सीमा विवाद



चैत १७, म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–१० पात्लेखेत र रघुगङ्गा गाउँपालिका–५ झिँका बासिन्दाबीच सिमाना विवाद बढेको छ । सीमाक्षेत्रमा पर्ने रघुगङ्गा र बराहपङ्ग्रेनी सामुदायिक वन तथा हिलाको भूगोललाई दुवै वडाका जनप्रतिनिधि र बासिन्दाले आफ्नो क्षेत्रमा भएको दाबी गर्न थालेपछि विवाद बढेको हो ।

सीमा विवादका कारण सामुदायिक वनको घाँस, दाउरा, काठ उपयोग र सीमाक्षेत्रमा पर्ने हिला गाउँमा विकास गतिविधि प्रभावित हुनुका साथै सामाजिक द्वन्द्व सिर्जना भएको छ । झिँका बासिन्दाले डेङ्ग्रेखोला र पात्लेखेतले घट्टेखोलालाई आफूहरुको सिमाना भएको दाबी गरेका छन् ।

रघुगङ्गा–५ का वडाध्यक्ष मनबहादुर शेरपुञ्जाले साविक झिँ गाविसको ९ नं वडामा पर्ने हिला क्षेत्रलाई पात्लेखेतले दाबी गरेको, सीमाक्षेत्रमा रहेका सामुदायिक वनको उपभोग र आम्दानी वितरणमा पात्लेखेतका बासिन्दाले एकलौटी गरेका कारण विवाद भएको बताए ।

“नापी विभागको नक्सा, साविकको वडा, सीमाक्षेत्रका बासिन्दाको जग्गाधनी पुर्जा लगायतका कागजातका आधारमा झिँको सिमाना डेङ्ग्रेखोला हो” वडाध्यक्ष शेरपुञ्जाले भने, “पात्लेखेतले दाबी गरेको हिला झिँको साविक ९ नं वडामा पर्छ ।”

हिला गाउँमा करीब ३० घरधुरीको बसोबास छ । हिलामा केही वर्षयता पात्लेखेततर्फका बासिन्दाले घरजग्गा किन्ने र घर बनाउने क्रम बढेको छ । पात्लेखेतका कार्यवाहक वडाध्यक्ष लोकबहादुर पुनले विसं २०३५ मा नापी भएपछि २०३६ मा तत्कालीन घतान र झिँगाउँ पञ्चायतको बीच भागलाई छुट्याएर बनाइएको पात्लेखेतको जग्गाधनी पुर्जामा अभिलेख नभएको र विसं २०५५ मा दुई गाउँका जनप्रतिनिधिबीच भएको सहमतिका आधारमा घट्टेखोला सिमाना भएको बताए । रासस

प्रकाशित मिति : १७ चैत्र २०७५, आइतबार ००:००