२१ मंसिर २०८२, शनिबार | Sun Dec 7 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

स्थापना दिवस र पर्व बिदा दिने नगरपालिकाको निर्णय



चैत १३, भक्तपुर । मध्यपुरथिमि नगरपालिकाले आफ्नो स्थापना दिवसमा सार्वजनिक बिदा दिने भएको छ । नगरपालिकाले आयोजना गरेको पत्रकार सम्मेलनमा नगर प्रमुख मदनसुन्दर श्रेष्ठले नगरपालिकाले आफ्नै क्यालेण्डर बनाएर पर्व बिदासमेत थप गर्ने तयारी गरेको बताए ।

उनले भने, “स्थानीय सरकारका रूपमा नगरपालिकाले आफ्नै क्यालेण्डर बनाउने र स्थापना दिवस लगायत बिस्केट जात्रामा चार दिन तथा अन्य स्थानीय पर्वमा बिदा दिने गरी क्यालेण्डर निर्माण गरेका छौँ ।” पत्रकार सम्मेलनमा नगरपालिकाका प्रवक्ता एवं वडा नं २ का अध्यक्ष राम थापामगरले नगरपालिकाले भोलि १४ गते आफ्नो २३ औँ स्थापना दिवस मनाउने भएको बताए ।

उनले स्थापना दिवसमा नगरपालिकाले नौवटै वडाका एक एक महिला र पुरुष गरी १८ जना ज्येष्ठ नागरिकताको स्वास्थ्य बीमाको रकम व्यहोर्ने बताए ।

त्यसैगरी प्रत्येक वडाबाट सामुदायिक विद्यालयमा पढ्ने तीनतीन जना गरीब एवं जेहेन्दार विद्यार्थीलाई वार्षिक चार हजारको दरले छात्रवृत्ति दिने, मध्यपुरका वरिष्ठ एक साहित्यकारलाई सम्मान गर्ने र नपालाई तिर्नुपर्ने राजश्व नियमितरूपमा तिर्ने तथा सबैभन्दा बढी राजश्व तिर्ने सेवाग्राहीमध्ये एक महिला र एक पुरुषतर्फ उत्कृष्ट करदातालाई सम्मान गर्ने प्रवक्ता थापामगरले बताए ।

स्थापना दिवसमा सीपमूलक तथा रोजगारमूलक तालीमका सहभागीले तयार गरेको वस्तु तथा उत्पादनको प्रदर्शनी एवं नगरपालिकाका विभिन्न गतिविधिको तस्वीरको प्रदर्शनी राखिने भएको छ ।

गत वर्ष नगर प्रमुख श्रेष्ठ र उपप्रमुख अञ्जनादेवी मधिकर्मीले स्थापना दिवस छुट्टाछुट्टै मनाए पनि यस वर्ष भने एउटै स्थापना दिवस मनाउने भएको उपप्रमुख मधिकर्मीले बताइन् । उनले गत वर्ष नगरप्रमुखसँगको विवादका कारण आफूले छुट्टै स्थापना दिवस मनाए पनि यस वर्षदेखि भने विवाद नगर्ने र एउटै स्थापना दिवस मनाउने सहमति भएकाले विवादरहितरूपमा दिवस मनाउन लागेको बताइन् । रासस

प्रकाशित मिति : १३ चैत्र २०७५, बुधबार ००:००