Logo

महानगरपालिकाद्वारा निर्माण सामग्रीको गुणस्तर परीक्षण शुरु



चैत, ११, रत्ननगर । भरतपुर महानगरपालिकाले निर्माण सामग्रीको गुणस्तर परीक्षण शुरु गरेको छ । यसअघि महानगरभित्र बनेका सडक, भौतिक पूर्वाधार एवं निर्माण सामग्रीको परीक्षण गर्न सडक डिभिजन कार्यालय भरतपुर र काठमाडौं पठाउनुपर्ने हुन्थ्यो ।

परीक्षण ल्याब (प्रयोगशाला) को निर्माण भरतपुर महानगरपालिकाको वार्षिक कार्यक्रम अनुसार १० लाखको लागतमा गरिएको महानगरका कार्यकारी अधिकृत नेत्रप्रसाद सुवेदीले जानकारी दिए ।

परीक्षण ल्याब (प्रयोगशाला) मा परीक्षण गरेर मात्र महानगरभित्र भौतिक निर्माणका काम गर्नुपर्ने भएकाले अब बन्ने संरचनाको गुणस्तरमा वृद्धि हुने उनको भनाइ छ । ल्याबमा सडक निर्माणपछि त्यसको गुणस्तर र निर्माण पूर्व गिट्टी, बालुवा, छडको गुणस्तर र आकार परीक्षण गर्न सकिन्छ ।

ल्याब उद्घाटन कार्यक्रममा भरतपुर महानगर प्रमुख रेनु दाहालले विकास निर्माणका कामलाई थप प्रभावकारी, गुणस्तरीय र दिगो बनाउन महानगरले आफ्नै प्रयोगशाला निर्माण गरेको बताइन् । विकास र गुणस्तरलाई सँगसँगै लैजान महानगरले यसको आवश्यकता महसुस गरी सञ्चालनमा ल्याएको उनको भनाइ छ । रासस

प्रतिक्रिया दिनुहोस्