चैत १०, डडेल्धुरा । डडेल्धुरा अमरगढी नगरपालीकाको नीति, वार्षिक बजेटदेखि अन्य काम कारवाहीलाई पारदर्शी गर्ने उद्देश्यले प्रविधि मैत्री बनाउँदै लगिएको छ ।
नगरका वडामा सूचना प्रविधि केन्द्र स्थापना गरी डिजिटल प्रविधिबाट विभिन्न किसिमका गातिविधि पारदर्शीरुपमा सम्प्रेषण गरिने जनाइएको छ । त्यसका लागि मुख्य र वडा कार्यालयमा सूचना प्रविधि केन्द्रको स्थापना गरी नगरवासीलाई नगरपालिकाको गतिविधिबारेमा जानकारी दिन थालेको अमरगढी नगरपालिकाले जनाएको छ ।
नगरपालिकाको वार्षिक नीति, बजेटदेखि नागरिक वडा पत्रसम्मको जानकारी सहज रुपमा दिन नगरपालिका र वडा कार्यालयमा सामुदायिक सूचना प्रविधि केन्द्रको स्थापना गर्न थालिएको हो ।
सबै खाले सूचना अब वडा कार्यालयबाट नै प्राप्त गर्न सकिने नगरपालिकाका प्रमुख विशेश्वरप्रसाद ओझाले बताए । यसै क्रममा नगरपालिका र वडा नम्बर १० कार्यालयमा सामुदायिक सूचना प्रविधि केन्द्र स्थापना भएको छ । सूचना प्रविधिको आधुनिक युगमा सो अनुरुपनै सूचना प्रवाह गर्न सूचना प्रविधि केन्द्रको स्थापना गरिएको नगरप्रमुख ओझाले बताए ।
नगरपालिकाले राम्रो कामको शुरुआत गरेको र सर्वसधारणलाई पनि सूचना पाउन सहज हुने स्थानीय प्रेम विष्टले बताए । सेसी नेपाल र डडेल्धुरास्थित सहयोगी संस्था ग्रामीण वातावरण विकास केन्द्रको आर्थिक सहयोगमा नगरपालिकामा सो सूचना प्रविधि केन्द्रको स्थापना गरिएको हो । रासस


प्रतिक्रिया