१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नागढुङ्गा–सिस्नेखोला सुरुङ मार्गको प्राविधिक प्रस्ताव स्वीकृत



फागुन २८, काठमाडौं । नागढुङ्गा बाट सिस्नेखोला सम्मको नेपालकै पहिलो सुरुङ मार्गको प्राविधिक प्रस्ताव स्वीकृत भई आर्थिक प्रस्ताव खोल्ने प्रक्रिया शुरु भएको छ ।

प्राप्त भएका छ वटा प्राविधिक प्रस्तावमध्ये बाट स्वीकृत गरी आर्थिक प्रस्ताव खोल्ने गरी प्रक्रिया अघि बढाइएको नागढुङ्गा सुरुङ मार्ग निर्माण आयोजनाले जनाएको छ । मार्ग निर्माणका लागि एक जापानी र पाँच चिनियाँ कम्पनीले प्राविधिक प्रस्ताव पेश गरेको आयोजना निर्देशक श्यामप्रसाद खरेलले जानकारी दिए ।

प्राविधिक प्रस्ताव स्वीकृत भएका कम्पनीको मात्र आर्थिक प्रस्ताव खोलिने उनले बताए । आर्थिक प्रस्तावको सबै प्रक्रिया पूरा गरी वैशाख अन्तिम सातादेखि नै निर्माण व्यवसायी काममा परिचालन गर्ने गरी तयारी भएको आयोजनाले जनाएको छ ।

प्रवेश मार्गसहित ५।५६ किमी सुरुङ मार्ग निर्माणका लागि २२ अर्ब लाग्ने लागत अनुमान गरिएको छ । साढे पाँच अर्ब प्रभावितलाई मुआब्जा वितरणमै खर्च हुनेछ । काठमाडौंको चन्द्रागिरी नगरपालिकाको वडा नं १, ३ र ५ का पीडितलाई मुआब्जा वितरण शुरु भएको छ । हालसम्म दुई अर्ब ४० करोड मुआब्जा वितरण भइसकेको जनाइएको छ ।

जापान अन्तर्राष्ट्रिय सहयोग नियोग जाइका को सहुलियत ऋण सहयोगमा दुई वर्ष अघिदेखि सुरुङ मार्ग निर्माण प्रक्रिया शुरु भएको थियो । सुरुङ मार्गका लागि जाइकाले १६ अर्ब सहयोग गर्नेछ । छ अर्ब सरकारले आन्तरिक स्रोतबाट परिचालन गर्ने छ ।

चार वर्षमा सुरुङ मार्ग निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ । यसअघि जलविद्युत् र खानेपानी आयोजनाका लागि लागि सुरुङ निर्माण भएपनि यातायात नै सञ्चालन हुनेगरी पहिलोपटक मार्ग निर्माण गर्न लागिएको हो । मार्गमा दुईवटा साना ‘फ्लाई ओभर’ समेत निर्माण गरिने आयोजना निर्देशक खरेलले बताए । रासस

प्रकाशित मिति : २८ फाल्गुन २०७५, मंगलबार ००:००