Logo

काठेखोला गाउँपालिकामा ‘एक वडा एक पहिचान’ कार्यक्रम



फागुन १९, गलकोट । बागलुङ जिल्लाको काठेखोला गाउँपालिकाले आगामी पाँच वर्षभित्र ‘एक वडा एक पहिचान’ स्थापित गर्ने भएको छ । गाउँपालिकाका सबै वडामा छुट्टाछुट्टै पहिचान स्थापित गरेर नमूना गाउँपालिकाका रुपमा विकास गर्न ‘एक वडा एक पहिचान’ कार्यक्रम ल्याएको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाले आव २०७५/७६ को नीति तथा कार्यक्रममा एक वडा एक पहिचान स्थापित गर्ने गरी गाउँपालिकाका आठै ओटा वडालाई भौगोलिक, सांस्कृतिक तथा उत्पादनका हिसाबले वर्गीकरण गरिएको गाउँपालिकाका अध्यक्ष अमर थापाले बताए । “प्रत्येक वडामा फरकफरक पहिचान स्थापित गर्ने गरी कार्यक्रम ल्याएका हौँ,” थापाले भने, “गाउँपालिकाले गरेको वर्गीकरणका आधारमा वडाले पहिलो प्राथमिकतामा राखेर काम गर्नुपर्नेछ ।”

गाउँपालिकाले वडा नं १ लाई हाटबजार विस्तार, वडा नं २ लाई पर्यटन तथा जडीबुटी, वडा नं ३ लाई आलुको पकेट क्षेत्र, वडा नं ४ लाई सांस्कृतिक सङ्ग्रहालय, वडा नं ५ लाई धार्मिक पर्यटन, वडा नं ६ लाई सुन्तलाको पकेट क्षेत्र, वडा नं ७ लाई खेलकूद र वडा नं ८ लाई हाते कागज तथा स्तुपाको पहिचानका रुपमा स्थापित गर्ने भएको छ ।

वडाहरुले आधारभूत आवश्यकतासँगै गाउँपालिकाले स्थापना गर्न खोजेको पहिचानलाई समेत ध्यानमा राखेर विकास गर्नका लागि यस्तो योजना ल्याएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत खिम विश्वकर्माले बताए । विश्वकर्माले गाउँपालिकाले आगामी वर्षदेखि बजेट विनयोजन गर्दा पहिचानलाई प्रमुख प्राथमिकतामा राख्ने बताए ।

सबै वडामा सबैको विकास सम्भव नभएका कारण एक वडालाई एउटा क्षेत्रमा पहिचान स्थापित गर्दा गाउँपालिकालाई समृद्धि गाउँपालिकाका रुपमा विकास गर्न सकिने वडा नं ७ का वडाध्यक्ष प्रेम लामिछानेले बताए । सडक, खानेपानी, शिक्षा र स्वास्थ्य जस्ता आधारभूत आवश्यकतासँगै वर्गीकरण गरेको वडाको पहिचानलाई ध्यानमा राखेर अगाडि बढ्ने गाउँपालिकाको लक्ष्य रहेको छ ।

गाउँपालिकाको जुन वडामा जे सम्भावना छ त्यसैलाई अध्ययन गरी पहिचानका आधारमा स्थापित गर्नेगरी गाउँपालिका लागेको हो । पहिचान स्थापित भएको खण्डमा गाउँपालिमा पर्यटन, कृषि तथा अन्य क्षेत्रको विकासमा टेवा पुग्ने गाउँपालिकाको अपेक्षा छ । रासस

प्रतिक्रिया दिनुहोस्