२६ असार २०८२, बिहिबार | Thu Jul 10 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बुटवल–वसन्तपुर केबुलकार सञ्चालनका लागि सार्वजनिक सुनुवाइ



फागुन १७, बुटवल । बुटवलबाट पाल्पाको वसन्तपुरका लागि सञ्चालन गरिने केबुलकारको वातावरणीय प्रभाव मूल्याङन प्रतिवेदनका विषयमा आज सरोकारवाला र स्थानिय जनताका बीचमा सार्वजनिक सुनुवाइ गरिएको छ ।

बुटवल उपमहानगरपालिका ३ बमघाटदेखि पाल्पाको तिनाउ गाउँपालिका ३ वसन्तपुर सम्मको तीन किलोमिटर दूरीमा केबुलकार सञ्चालन गरिने प्रस्तावसहित आज केबुलकारको शुरु र अन्तिम स्टेशन रहने स्थानका स्थानीय बासिन्दाका बीचमा लुम्बिनी केबुलकार प्रा लि ले सार्वजनिक सुनुवाइ कार्यक्रमको आयोजना गरेको हो ।

सो अवसरमा स्थानीयवासीले केबुलकार सञ्चालन गरिने क्षेत्र चुरे पहाडको संरचना निक्कै कमजोर अवस्थाको रहेकाले यसको संरचनालाई खलल नपर्ने गरी निर्माण हुनुपर्ने सुझाव दिएका छन् । केबुलकार निर्माण गर्दा स्थानीयवासीले वातावरणीय संरक्षण गर्दै पानीको स्रोत जोगाएर काम गर्नसमेत सुझाव दिएका छन् ।

सार्वजनिक सुनुवाइ कार्यक्रममा बुटवल बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुख तथा बुटवल बोटानिकल गार्डेन समितिका अध्यक्ष समेत रहेका बुद्धबहादुर बस्नेतले केबुलकारले रोजगारी, विकास र पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण अवसर सिर्जना गर्ने भएकाले वातावरणीय संरक्षणलाई ध्यानमा राखेर काम गर्न सुझाव दिए ।

राष्ट्रपति तराई मधेश चुरे संरक्षण समिति कार्यालयका प्रमुख प्रेम पौडेलले वातावरणीय, प्रकृति र भूगोल मैत्री अवधारणाले केबुलकारको संरचना निर्माण गर्नुपर्नेमा जोड दिए । उनले स्थानीयवासीको चासोमा आयोजनाले चासो राखेर सम्बोधन गर्नुपर्ने बताए ।

उपमहानगरका कार्यवाहक नगर प्रमुख रामप्रसाद रेग्मीले बुटवलको पर्यटन विकास र समृद्धिसँग यो योजना जोडिएकाले स्थानीय जनताको चाहना अनुरुप नगरपालिकाले अभिभावकीय र संरक्षकको जिम्मेवारी लिने प्रतिबद्धता जनाए । उनले केबुलकार सञ्चालन हुँदा बुटवलको पर्यटकीय पूर्वाधार विकासमा महत्वपूर्ण हुने बताउँदै पर्यटकीय विकास निजी र साझेदारीका माध्यमबाट अघि बढाइने स्पष्ट पारे ।

स्थानीय बुद्धिजीवी परशुराम ढकालले केबुलकारको सञ्चालनसँगै स्थानीय जनतालाई आरक्षणको व्यवस्था गर्नुपर्ने सुझावसमेत दिए । कार्यक्रममा अर्की स्थानीयवासी मैयाँ भट्टराईले बुटवलको समृद्धिमा महत्वपूर्ण हुने बताउँदै यसका वरपरका क्षेत्रमा समेत विकास निर्माणमा ध्यानाकर्षण गराइन् ।

चन्द्रागिरि हिल्स केबुलकार प्रा लि का सञ्चालक अम्बिकाप्रसाद पौडेलले केबुलकारको संरचना आधुनिक र वातावरणीय संरक्षणमा विशेष ध्यान पु¥याइने बताए । उक्त केबुलकारको निर्माणसँगै वसन्तपुरमा अत्याधुनिक पाँचतारे होटल समेत स्थापना गरेर सो क्षेत्रलाई पर्यटकीय गन्तव्यका रुपमा स्थापित गर्ने लक्ष्य रहेको योजना प्रस्तुत गरिएको थियो । उक्त योजनाको तीन अर्ब ५२ करोडको अनुमानित लागत प्रस्तुत गरिएको छ । रासस

प्रकाशित मिति : १७ फाल्गुन २०७५, शुक्रबार ००:००