७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

दिप्रुङ चुइचुम्मा गाउँपालिकाका सबै वडामा सडक विस्तार



केदार मगर

माघ ८, खोटाङ । खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिकाको सबै वडामा सडक विस्तार भएपछि स्थानीयवासीलाई यातायात आवागमनमा सहज भएको छ । गाउँपालिकाले सबै वडामा सडकको पहुँच पु¥याएपछि दिप्रुङ चुइचुम्मा गाउँपालिकासहित अन्य छिमेकी गाउँपालिकाका स्थानीयलाई समेत यातायातमा सहज भएको हो ।

सात वडा रहेको गाउँपालिकामा स्थानीय सरकार गठन भएपछि सडकको सञ्जाल फराकिलो पार्दै साना तथा ठूला सवारीसाधन सञ्चालनमा ल्याएको छ । कच्ची अवस्थामा भएपनि सबै वडामा विस्तार गरिएको सडक सञ्चालनमा आएको छ ।

दिप्रुङ चुइचुम्मा गाउँपालिकाको टेम्मा र साकेला गाउँपालिकाको सिमानामा पर्ने तावाखोलामा अस्थायी सडक बनेपछि अहिले यातायात आवागमन सहज भएको गाउँपालिका अध्यक्ष भूपेन्द्र राईले बताए । गाउँपालिकामा जताततैबाट सडकको पहुँच पुगेपछि विकासले समेत फड्को मारेको छ ।

जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल र तराई जोड्ने छोटो दूरीको सडक बनेपछि दुई तीन दिन लगाएर तराई तथा अन्य स्थान जानुपर्ने बाध्यता हटेको छ । विकासको पहिलो खुड्किलो सडकलाई प्राथमिकता दिँदै गाउँपालिकाले दिक्तेल–खानीडाँडा याम्खा पञ्चमीबजार, दिक्तेल–मात्तिम–टेम्मा पञ्चमीबजार, पञ्चमीबजार–वातुखुम, पञ्चमीबजार–लिच्किराम्चेको रसुवाबजार र पञ्चमीबजार–बतासेको रेग्मीटार सडक निर्माण गरेर सञ्चलानमा ल्याएको हो ।

गाउँपालिकाले खोलेको सबैभन्दा छोटो दूरीको सडक दिक्तेल–खानीडाँडा–याम्खा सडकखण्डमा पक्की पुल निर्माण हुँदैछ । जसको लागि बोलपत्र आह्वानको काम अगाडि बढाइएको गाउँपालिकाले जनाएको छ । पक्की पुल बनेसँगै गाउँपालिकाले उक्त सडकलाई बाह्रै महीना सञ्चालनमा ल्याउने योजना बनाएको छ ।

यसैबीच, आठ गाउँपालिकामध्ये विकासमा सबैभन्दा अगाडि रहेको उक्त गाउँपालिकाले मङ्सिर २२ गतेदेखि ६५ वर्षमाथिका सम्पूर्ण ज्येष्ठ नागरिकलाई यातायातमा निःशुल्क सुविधा दिएको छ । रासस

प्रकाशित मिति : ८ माघ २०७५, मंगलबार ००:००