Logo

म्याङलुङ–ओख्रे–शुक्रबारे सडक अन्तर्गत लम्बु खोलामा पुल निर्माण



माघ ७, तेह्रथुम । म्याङलुङ–ओख्रे–शुक्रबारे सडकखण्ड अन्तर्गत लम्बु खोलामा निर्माण भइरहेको मोटरेबल पुल निर्माणको काम सकिएको छ ।

पुल निर्माण सम्पन्न भएर रङरोगनको काम भइरहेको छ । पुल निर्माण सम्पन्न भएकाले केही साताभित्रै उद्घाटन गरी यातायात सञ्चालनमा ल्याउने तयारी रहेको म्याङलुङ नगरपालिकाका प्रमुख सञ्जयकुमार तुम्बाहाम्फेले बताए ।

तत्कालीन जिल्ला विकास समितिले पुल निर्माणको जिम्मा हेटौँडाको सपना निर्माण सेवालाई दिएको थियो । पाँच करोड ९८ लाख ४७ हजार २६१ मा कामको जिम्मा लिएको कम्पनीले निर्धारित म्यादभन्दा ढिला गरी भए पनि पुल निर्माणको काम सकेको हो ।

४८ मिटर लम्बाइ र छ मिटर चौडाइ रहने उक्त पुल स्टिल प्लेटमाथि आरसिसी स्ल्याब लगाएर बनाइएको छ । पुल निर्माणको काम सम्पन्न भएको पुलमा कार्यरत इञ्जिनीयर अमरेन्द्र चौधरीले बताए ।

पुल बनेसँगै वारिपारिका सडक स्तरोन्नतिको कामसमेत अघि बढ्ने भएको छ । छथर गाउँपालिका क्षेत्रको सडक स्तरोन्नति गरी अबलगत्तै म्याङलुङदेखि छथर गाउँपालिकासम्म सिधा यातायात सञ्चालन गर्ने तयारी रहेको छथर गाउँपालिकाका अध्यक्ष सन्तवीर लिम्बूले बताए ।

तेह्रथुममा स्वरोजगार कोषको ७० करोड लगानी

युवा तथा साना व्यवसायी स्वरोजगार कोषले तेह्रथुम जिल्लामा ७० करोड बढी रकम लगानी गरेको छ । युवालाई स्वरोजगार बनाउने ध्येयले कोषले जिल्लाका विभिन्न सहकारी संस्थामार्फत ७० करोड २० लाख बढी रकम लगानी गरेका हुन् ।

त्यतिका रकम लगानीका लागि विभिन्न सहकारी संस्थासँग सम्झौता भई हालसम्म ५५ करोड ७० लाख लगानी भइसकेको युवा तथा साना व्यवसायी स्वरोजगार कोष जिल्ला संयोजन तथा अनुगमन समितिका सदस्य सचिव माधव दाहालले बताए ।

उनका अनुसार जिल्लाका १४ वटा सहकारी संस्थामा मात्रै अहिले ५५ करोड ७० लाख लगानी भइसकेको छ । १४ वटा सहकारी संस्थाका ३२१ युवालाई कोषले व्यावसायिक बन्न ऋण सहयोग गरेको हो । कोषले २०६९ सालबाट वर्षेनी सहकारीलाई स्वरोजगारका लागि ऋण लगानी गर्दै आएको छ । रासस

प्रतिक्रिया दिनुहोस्