१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

डोटीका स्थानीय तहमा बैक नहुँदा सरकारी कामकाज प्रभावित



माघ ७, डोटी । डोटीका स्थानीय तहमा बैंक नहुँदा सरकारी कामकाजमा समस्या हुन थालेको छ । जिल्लाका कुल नौ स्थानीय तहमध्ये दीपायल सिलगढी नगरपालिकाबाहेक अन्य आठ स्थानीय तहमा हालसम्म पनि बैंक पुग्न सकेका छैनन् । जिल्लाका बडीकेदार, बोगटान, सायल, पूर्वीचौकी, आर्दश, केआइसिंह, जोरायल गाउँपालिका तथा शिखर नगरपालिकामा हालसम्म बैंक स्थापना हुन सकेका छैनन् ।

स्थानीयतहमा बैंक स्थापना नहुँदा सामान्य सरकारी कामकाजका लागि जिल्ला सदरमुकाम सिलगढी तथा कैलाली जानुपर्ने बाध्यता रहेको बडीकेदार गाउँपालिका विपिनगरका स्थानीय रोजबहादुर कलेलले बताए । उनले भने, “गाउँपालिकामा बैंक छैनन्, सामान्य राजश्व बुझाउन पनि दुई दिन लगाएर जिल्ला सदरमुकाम सिलगढी वा कैलाली जानुपरेको छ ।”

राज्यको पुनःसंरचनापश्चात् सरकारले मुलुक भरका सबै स्थानीय तहमा बैंकिङ तथा वित्तीय संस्था सञ्चालनमा ल्याउने भनी निर्णय गरेको भए पनि यहाँका स्थानीयतहमा बैंकिङ सेवा सञ्चालन नहुँदा स्थानीयले सास्ती खेप्दै आएका छन् । सरकारले नेपाल राष्ट्र बैंकलाई सबै स्थानीय तहमा बैंकिङ सेवा शुरु गर्ने निर्देशन दिएको भए पनि ग्रामीण क्षेत्रमा सरकारी तथा निजी बैंकले हालसम्म सेवा शुरु नगर्दा यहाँ सेवाग्राही मर्कामा परेका हुन् ।

स्थानीय तहमा बैंकिङ सेवा प्रभाह नहुँदा शिक्षक, कर्मचारी, व्यापारी मात्र होइन गाउँपालिकाका कामकाजसमेत प्रभावित बन्दै गएको जोरायल गाउँपालिका ५ गड्सेराका वडाध्यक्ष ध्वजबहादुर देउवाले बताए । यहाँका स्थानीय तहका गाउँमा आर्थिक कारोवार नहुने भएपछि स्थानीय अहिले पनि जिल्ला सदरमुकाम सिलगढी तथा पुरानो क्षेत्रीय सदरमुकाम दीपायल लगायतका क्षेत्रमा गई सेवा लिन बाध्य भएको केआइसिंह गाउँपालिका ५ का स्थानीय चेतराज भट्टले बताए । उता जिल्ला सदरमुकामस्थित राष्ट्रिय वाणिज्य बैंकले स्थानीय तहमा बैंक स्थापना गर्ने भने पनि सुरक्षाका कारण विस्तार गर्न नसकिएको जनाएको छ ।

नागरिक समाजले विद्यालय अनुगमन गर्ने

केआइसिंह गाउँपालिकाकाको वडा नं ५ मा रहेको नागरिक समाजले आफ्नो वडामा भएका विद्यालयमा अनुगमन गर्ने भएको छ । वडा कार्यालयमा आयोजना गरिएको स्थानीय सभाको बैठकले गुणस्तरीय शिक्षा प्रवर्धनका लागि विद्यालय अनुगमन गर्ने भएको हो । अनुगमनका लागि पाँच सदस्यीय समितिसमेत बनाएको सो वडाका वडाअध्यक्ष रामचन्द्र राणाले जानकारी दिए । उनका अनुसार अनुगमन समितिको संयोजकमा दुर्गासिंह रावल र सदस्यमा वडासदस्य ममता सार्की, चेतबहादुर रावल, स्वास्थ्य शाखाका उपप्रमुख विश्वेश्वर यादव र गणेश शाही रहेका छन् । रासस

प्रकाशित मिति : ७ माघ २०७५, सोमबार ००:००