१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

माछापुच्छ्रे गाउँपालिकामा बीउ बैंक स्थापना



कृष्ण दवाडी

माघ ५, कास्की । परम्परागत र स्थानीय जातका बीउबीजन संरक्षण गर्ने उद्देश्यले कास्कीको माछापुच्छ्रे गाउँपालिका–३ घाचोकमा ‘सामुदायिक बीउ बैंक’ स्थापना गरिएको छ ।

नेपाल कृषि इञ्जिनीयरिङको सहयोगमा स्थानीय अन्नपूर्ण महिला प्राङ्गारिक कृषि सहकारी संस्था लिमिटेडले परम्परागत र लोपोन्मूख बीउबीजनको संरक्षण गर्न बैंक स्थापना गरिएको हो ।

०७२ सालको विनाशकारी भूकम्पछि प्रभावित जिल्लामा खाद्य तथा नगदेबालीको स्थानीय बीउ लोप हुन थाले पछि लिमिटेडले जिल्ला कृषि विकास कार्यालयहरू मार्फत प्रभावित जिल्लाहरूमा बैंक स्थापना गर्ने योजना ल्याएको हो ।

सोही अनुसार बीउ संरक्षणका लागि कास्की जिल्लामा सो सहकारीलाई छनोट गरी सहकारीमार्फत सो बीउ बैैंक स्थापना गरिएको हो । बैंकमा धान, मकै, गहुँ, जौ, तोरी, बदामलगायत खाद्य तथा नगदेबालीका लोपोन्मुख र परम्परागत बीउबीजन संकलन गरेर राखिनेछ ।

संकलित बीउ कृषकलाई वितरण गरिने अन्नपूर्ण महिला प्राङ्गारिक कृषि सहकारी संस्थाका अध्यक्ष अनन्ता पोखरेलले बताइन् ।

सो बीउ बैंकमा कृषकले आफूसँग भएको बीउबीजन लगेर प्रशोधन गरी सुरक्षित साथ भण्डारण गर्नसक्ने व्यवस्था मिलाइएको छ । किसानले सहज तरिकाले बैंकबाट बीउ पाउनुका साथै आफूसँग भएका बीउलाई पनि बैंकमा राख्न सकिने पोखरेलले बताईन् ।

“धानमा पहेँले, नौलो मार्सी, गुडुरा, फलाऐँ, विरम्फूललगायत लोपोन्मुख प्रजाति, कोदोका असारे, सेतो, रातो, कालो प्रजाति तथा पहेँलो र सेतो प्रजातिका मकैका बीउ ल्याएर बैंकमार्फत कृषकलाई बितरण गर्ने लक्ष्य छ,” पोखरेलले भनिन् ।

बीउ बैंक स्थापनाबाट बीउका लागि कृषकले भोग्नु परेका समस्या समाधान हुने तथा हावापानी र माटो सुहाउँदो बीउको मद्दतबाट खेतीबाली लगाउन सहयोग पुग्ने विश्वास स्थानीय कृषक बेदनिधि दवाडीको छ ।

उन्नत जातका बीउबाट उत्पादन राम्रो हुने भएकाले त्यसतर्फ कृषक आकर्षित भए पनि स्थानीय जातका बीउबाट उत्पादित अन्नबाली स्वादिष्ट हुने दवाडीले बताए ।

बीउ प्रशोधनका लागि रु तीन लाखको लागतमा प्रशोधन मेसिन सञ्चालनमा ल्याइएको छ । शुरुमा बीउ सुकाउने, त्यसलाई प्रशोधन गर्ने र भण्डारण गर्ने गरिएको छ ।

बीउ बैँक स्थापना भए पनि बीउ छनोट, भण्डारण तरिका तथा लोप हुँदै गएका बीउका बारेमा सहकारीका सदस्यलाई प्राविधिक ज्ञान दिलाउन तालीम आवश्यक रहेको पोखरेलले बताइन् ।

६१ लाख रुपैयाँमा भवन

अन्नपूर्ण महिला प्राङगारिक कृषि सहकारी संस्थाले ६१ लाख ११ हजार रुपैयाँमा संस्थाको भवन तथा सामुदायिक बीउ बैँक भवन स्थापना गरेको छ । दुई तल्लाको पक्की भवनका लागि स्थानीयवासी चन्द्रावती पोखरेलले निःशुल्क रुपमा जमीन दान गरेकी थिइन् ।

भवन २०७३ सालबाट निर्माण शुरू गरेको थियो । सो भवनको पहिलो तला बीउ भण्डारणका लागि प्रयोग गरिने भएको छ भने दोस्रो तला सहकारीको कार्यालय प्रयोजनका लागि प्रयोगमा ल्याइने पोखरेलले जानकारी दिइन् ।

कृषि इञ्जिनीयरिङको ५१ लाख ६४ हजार रुपैयाँ, आठ लाख ४७ हजार रुपैयाँ र माछापुच्छ्रे गाउँपालिकाको १ लाख रुपैयाँको लागतमा भवन निर्माण गरिएको हो । बीउ प्रशोधन मेसिन तथा बीउ सुकाउने प्रयोजनका लागि एक रोपनी जमीन १५ वर्षका लागि भाडामा लिएर अर्को भवन स्थापना गरिएको छ । रासस

प्रकाशित मिति : ५ माघ २०७५, शनिबार ००:००