२५ असार २०८२, बुधबार | Thu Jul 10 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

शिलान्यास भएको ३३ वर्षमा पनि खुलेन सहजपुर–दिपायल सडक



माघ ४, डोटी । डोटीको विपीनगर हुँदै दिपायल जोड्ने बोगटान सडकको अहिलेसम्म ४३ किलोमिटर बाटो खुलाउन सकिएको छैन । शिलान्यास भएको ३३ वर्ष बित्दा पनि उक्त सडकखण्डको साधारण बाटोसम्म पनि नखोलिएकामा स्थानीयवासी आक्रोशित भएका छन् ।

विसं २०४२ मा शिलान्यास गरिएको उक्त १०८ किमी सडकमध्ये ४३ किमीमा बाटो खुल्न बाँकी रहेको बडिकेदार गाउँपालिकाका रोजबहादुर कलेलले बताए । उनले भने, “हामी सानै छँदा शिलान्यास गरिएको उक्त सडक हामी बूढो हुन थालिसक्यौँ अझै पूरा भएको छैन ।” चुनावको समयमा उक्त सडकलाई दिपायलसम्म लगेर जोड्छौँ भन्दै नेताले भोट मागे तर पनि चुनाव जितेपछि कसैले फर्केर नहेरेको स्थानीयवासीको आरोप छ ।

हाल डोटीको बडिकेदार गाउँपालिकाको अतरकाँडासम्म मात्र सडक पुगेको छ । बाटो खोलिएको ६५ किमीमध्ये ५० किमीमा भने कालोपत्रको तयारी भइरहेको सोही स्थान निवासी बमबहादुर कलेलले बताए । उनले भने, “सडक शिलान्यास भएको वर्षौँपछि ५० किमीसम्म कालोपत्र हुने भएको छ, कालोपत्रे मैले गराउन लगाएको भन्दै विभिन्न दलका नेतामा जुहारी चलेको छ ।”

कैलालीका दुई र डोटीका चार गाउँपालिका जोड्ने दिपायल–बोगटान सडकको जङ्गल क्षेत्रमा वातावरणीय प्रभाव मूल्याङ्कनमा भएको ढिलाइले दुई आर्थिक वर्षको बजेटसमेत रोकिएको स्थानीयवासी बताउँछन् ।

डोटी जिल्लाकै सबैभन्दा पुरानो सडक सहजपुर–बोगटान–दिपायल सडकले पूर्णता नपाउँदा स्थानीयवासीको जीवनस्तरमा सुधार आउन नसकेको बडिकेदार गाउँपालिकाका अध्यक्ष कृष्णबहादुर चन्दले बताए ।

उनले भने, “कृषि उत्पादनमा हाम्रो गाउँपालिका सबैभन्दा अगाडि छ तर सडक नहुँदा कृषकले उमारेका चिजवस्तु बजारसम्म पु¥याउन नसक्दा घरैमा कुहिन थालेका छन् ।” सहजपुर–बोगटान सडक कालोपत्र गर्नका लागि दुई अर्ब पाँच करोडमा ठेक्का भएर निर्माण कार्य अघि बढेको छ ।

तीस महीनाको निर्माण अवधि रहेको उक्त सडकखण्ड कैलालीको चुरे गाउँपालिकाभित्र पर्ने १८ किमी र डोटीको विपीनगरदेखि बडिकेदारसम्म २८ किमी सडक कालोपत्र गरिने कुमार श्रेष्ठ निर्माण सेवाका कन्ट्र्याक्ट म्यानेजर ईश्वर बस्नेतले बताए । रासस

प्रकाशित मिति : ४ माघ २०७५, शुक्रबार ००:००