१२ बैशाख २०८१, बुधबार | Wed Apr 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

थुम्के डाँडामा दृश्यावलोकन स्तम्भ निर्माण गरिने



माघ २, इलाम । इलामको माइजोगमाई गाउँपालिकास्थित प्याङको थुम्के डाँडामा दृश्यावलोकन स्तम्भ ‘भ्यू टावर’ निर्माण गरिने भएको छ ।

सूर्योदय र सूर्यास्तको दृश्यावलोकन गर्न सकिने यस क्षेत्रमा पर्यटन प्रवर्द्धनका लागि पाँच वर्षे योजनाका साथ ५० लाखमा टावर निर्माण गरिने बताइएको छ । पर्यटकीयस्थलका रूपमा विकास हुदै रहेको उक्त क्षेत्रमा माइजोगमाई गाउँपालिकाले प्रदेश र सङ्घीय सरकारको आर्थिक सहयोगमा टावर निर्माण गर्ने भएको हो । माइजोगमाई गाउँपालिकाका अध्यक्ष जीतबहादुर राईका अनुसार टावर बहु तले र सुविधायुक्त हुने छ ।

यस क्षेत्रबाट सूर्योदय र सूर्यास्तको मनोरम दृश्य देख्न सकिन्छ भने जिल्लाका सबै स्थानीय तहको दृश्यावलोकनसमेत गर्न सकिन्छ । यस क्षेत्रको बाटो हुँदै इलामको प्रमुख पर्यटकीय स्थान सन्दकपुर पनि छिटो बाटोबाट पुग्न सकिने स्थानीय देवी अधिकारीको भनाइ छ ।

माइजोगमाईस्थित यस थुम्के डाँडामा पछिल्लो समय पर्यटकको चहलपहल बढ्दै गएको पाइएको छ । लेकाली जीवजन्तुको अवलोकन, सूर्योदयको मनोरम दृश्यले भरिएको यस क्षेत्रमा दैनिक ५० देखि १०० को हाराहारीमा पर्यटक आउने गरेका छन् ।

केही वर्ष अघि मात्र सूर्योदय अवलोकन गर्न सकिने स्थल भनी पत्ता लागेको यो क्षेत्रमा धेरैजसो आन्तरिक पर्यटक आउने गरेका छन् । विकास पूर्वाधारमा पछि परेको यस क्षेत्रमा हालसम्म पनि विद्युत् पुग्न सकेको छैन भने यस वर्ष मात्र सडक पुगेको छ । सडक पुगेसँगै पर्यटकको चहलपहल बढेको अध्यक्ष राईको भनाइ छ । रासस

प्रकाशित मिति : २ माघ २०७५, बुधबार ००:००