६ बैशाख २०८१, बिहिबार | Thu Apr 18 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

दुर्घटनाको मृतकका परिवारलाई गाउँपालिकाबाट राहत



पुस १५, बेत्रावती । नुवाकोटको दुप्चेश्वर गाउँपालिका–१ घ्याङडाँडामा गत मङ्सिर २८ मा मिनीट्रक दुर्घटनामा परी ज्यान गुमाएका व्यक्तिको परिवारलाई राहतस्वरुप शनिबार गाउँपालिकाले प्रतिमृतक २५ हजार रुपैयाँ रहात परिवारलाई उपलब्ध गराएको छ ।

गाउँपालिकाका अध्यक्ष योविन्द्रसिंह तामाङ, उपाध्यक्ष अञ्जु आचार्य र प्रमुख प्रशासकीय अधिकृत रामहरि गजुरेलसहितको टोलीले २१ जना मृतकका परिवारलाई भेटेर धार्मिक संस्कारअनुसार परम्परागत कार्य गर्न राहतस्वरुप सो रकम उपलब्ध गराएको हो ।

मिनीट्रक दुर्घटनामा परी ज्यान गुमाएका व्यक्तिका परिवारको आर्थिक अवस्था निकै कमजोर भएको र मिनीट्रकमा यात्रुको बीमासमेत नहुने भएकाले सहयोगस्वरुप राहत रकम घरघरमै पुगेर उपलब्ध गराएको अध्यक्ष तामाङले बताए ।

सोही समयमा ज्यान गुमाएका व्यक्तिको मृत्यु दर्ता पनि वडा कार्यालयमार्फत घरघरमै गएर प्रदान गरिएको छ । उक्त दुर्घटनामा परी ज्यान गुमाएका व्यक्तिको आर्थिक अवस्था निकै कमजोर भएकाले सहयोगका लागि गाउँपालिकाले गरेको सबैलाई अपिल गरेको थियो । अपिलअनुसार नुवाकोटको पञ्चकन्या गाउँपालिका–४ थप्रेकका ईश्वर कार्कीमार्फत सङ्कलन भएको ४४ हजार रुपैयाँमाथी नेविसङ्घका जिल्ला नेता कृष्ण मिश्रले ६ हजार रुपैयाँ थप गरी दिएको थियो ।

यसैगरी, नुवाकोटको शिवपुरी गाउँपालिकाले मृतक व्यक्तिका परिवारलाई सहयोगस्वरुप २ लाख १० हजार रुपैयाँ दुप्चेश्वर गाँउपालिकालाई उपलब्ध गराएको उपाध्यक्ष अञ्जु आचार्यले जानकारी दिइन् । उनका अनुसार त्यो रकम अब गाउँपालिकाले मृतक व्यक्तिको परिवारलाई रु १०÷१० हजार रुपैयाँ उपलब्ध गराउने भएको छ ।

दुर्घटनामा ज्यान गुमाएका व्यक्तिका परिवारलाई सहयोगस्वरुप दुप्चेश्वर गाउँपालिका–७ शिखरबेँसीका व्यवसायी सुशील खड्काले यसअघि मृतकका सबै परिवारलाई १०÷१० हजार रुपैयाँ बितरण गरेका थिए ।
उक्त दुर्घटनामा घटनास्थलमा नै १८ जना र उपचारको क्रममा थप ३ गरी २१ जनाको मृत्यु भएको थियो भने गम्भीर घाइते १३ जनाको अहिले पनि काठमाडाँैका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

उनीहरुको उपचारका क्रममा आर्थिक अभाव भएकाले सहयोगका लागि गाउँपालिकाले गरेको अपिलअनुसार दाताबाट सहयोग जुट्ने क्रम पनि जारी छ । हालसम्म तामाङ समाज अमेरिकाको तर्फबाट संस्थाका महासचिव बुद्धिमान तामाङको पहलमा १ लाख रुपैयाँ, दुप्चेश्वर गाउँपालिका–६ समुन्द्रटारका मधुकर पाण्डेबाट १ लाख रुपैयाँ, हिरारत्न जलविद्युत् आयोजनाले ५० हजार रुपैयाँ, सामुदायिक विकास केन्द्र नुवाकोटले ३९ हजार रुपैयाँ, शिक्षक सङ्घ नुवाकोटले ११ हजार रुपैयाँ, दुप्चेश्वर गाउँपालिका–५ का वडासदस्य होमबहादुर तामाङले ९ हजार रुपैयाँ सहयोग दिएको गाउँपालिकाले जनाएको छ । रासस

प्रकाशित मिति : १५ पुस २०७५, आइतबार ००:००