१५ चैत्र २०८०, बिहिबार | Thu Mar 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

खोलामा पुल नहुँदा सडक सुविधाबाट बञ्चित



पुस १०, बेनी । म्याग्दीको मङ्गला गाउँपालिका ५ अर्मनवासीले खोलामा पुल नहुँदा सडक सुविधाबाट बञ्चित भएका छन् । गाउँपालिकाको केन्द्र बाबियाचौर हुँदै जिल्ला सदरमुकाम आउने बाटोमा पर्ने म्याग्दी खोलामा वारपारका लागि पुल निर्माण नभएपछि अर्मनवासीलाई सास्ती भएको छ ।

स्थानीयवासीलाई खोलामा जोखिम मोलेर सवारी साधन गुडाउनुपर्ने तथा पैदल हिँड्नुपर्ने बाध्यता छ । बाबियाचौरको पानाबगर र अर्मनको हाँडेभिरमा म्याग्दी नदीको पानीलाई फिँजारेर बनाइएको जोखिमयुक्त बाटो हुँदै सवारी साधन वारपार गराइँदै आएको अर्मनका वडाध्यक्ष भूपेन्द्र खत्रीले बताए । “हिउँदमा सवारी साधन खोलाबाटै वारपार गराइन्छ, अन्य समयमा सवारी आवागमन ठप्प जस्तै हुन्छ,” उनले भने ।

हिउँदमा खोलामा जोखिम मोलेर बोलेरो, ट्र्याक्टर लगायतका सवारी साधन वारपार गराए पनि बर्खायाममा भने सवारी साधन वारपार गराउन नसकिने शिशुकल्याण माविका शिक्षक गोविन्द रोकाले बताए । “पुल नहुँदा सडक नभएजस्तै भएको छ,” उनले भने ।

अर्मनसँगै बरङ्जाका बासिन्दाले समेत गाउँपालिकाको केन्द्र बाबियाचौर पुग्न म्याग्दी खोलामा जोखिम मोलेर सवारी साधन वारपार गराउँदै आएका छन् । कतिपय सवारी साधन घुमाउरो बाटो भएर बेनी हुँदै जान्छन् । कतिपय सवारी साधन बीचमै पुगेर अड्किने र पल्टिने समस्याले चिसो पानीमा भिजेरै सवारी साधन तार्नुपर्ने बाध्यता छ ।

बाबियाचौरतर्फ माटेबगर र अर्मनतर्फ साठीखण्ड जोड्ने गरी मसानघाटमा पक्की पुल निर्माणका लागि योजना छनोट गरी विगतदेखि नै पहल भइरहेको छ । अर्मन–बाबियाचौर र बरङ्जाको पखेर–तातोपानी जोड्ने पुल निर्माणलाई प्राथमिकतामा राखेर योजना माग गरिएकामा अहिले यी योजना ठेक्का प्रक्रिया सकिएर कार्यान्वयनको तयारीमा रहेको मङ्गला गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकाले बताए ।

अहिले वडा नं ३ र ४ बरङ्जा तथा ५ अर्मनलाई गाउँपालिकासँग सिधा सडक सञ्जालले जोड्न दु्रतमार्गले पूर्णता पाए पनि म्याग्दी खोलामा पुल नहुँदा सवारी साधन वारपार गर्न सास्ती भएको छ ।

सडक डिभिजन कार्यालय बागलुङले यी दुवै ठाउँमा पुल निर्माणका लागि ठेक्का प्रक्रिया सम्पन्न भएको जनाएको छ । कार्यालयका सब इञ्जिनीयर अर्जुन गौतमले पखेर–तातोपानी जोड्ने पुल निर्माणका लागि निर्माण कम्पनी कार्यक्षेत्रमा परिचालन भएर आवश्यक तयारीमा जुटेको जानकारी दिए । उनका अनुसार बाबियाचौर र अर्मन जोड्नका लागि मसानघाटमा निर्माण हुने पुलकोसमेत ठेक्का प्रक्रियाको काम सकिएको छ । रासस

प्रकाशित मिति : १० पुस २०७५, मंगलबार ००:००