१० बैशाख २०८१, सोमबार | Mon Apr 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

तेह्रथुमका सबै स्थानीय तहमा यातायात सञ्चालन



पुस ७, तेह्रथुम । तेह्रथुमका सबै स्थानीय तहसम्म नियमित यातायात सेवा सञ्चालन भएको छ । दुई नगरपालिका र चार गाउँपालिका रहेको जिल्लाका सबै स्थानीय तहका केन्द्रबाट पूर्वी तराईसम्म पुग्ने नियमित सवारी सेवा सञ्चालन हुन थालेको हो । हालै आठराई गाउँपालिकाको केन्द्र सक्रान्तिबजारबाट सदरमुकाम म्याङ्लुङ हुँदै धरानसम्म सीधा बस सेवा शुरु भएको छ ।

हिउँदयाम शुरु भएसँगै जिल्लाको मेन्छ्यायेय गाउँपालिका, फेदाप गाउँपालिका र आठराई गाउँपालिकाका केन्द्रबाट सिधै पूर्वी तराईसम्म बस सेवा शुरु भएको हो । जिरीखिम्ती–मोराहाङ सडक १२ वर्षदेखि निर्माणाधीन भए पनि अहिलेसम्म भरपर्दो यातायात सेवा उपलब्ध थिएन । हिउँदयाम शुरु भएलगत्तै सडक स्तरोन्नति गरी गाउँपलिका र नगरपालिकाले नियमित बस सेवा सञ्चालन गरेका हुन् । मोराहाङ बजारसम्म नै बस सञ्चालन हुन थालेपछि स्थानीयवासीलाई राहत मिलेको स्थानीय पुष्पा गौतमले बताइन् ।

यसअघि यहाँका बासिन्दा बस चढ्नका लागि करीब तीन घण्टा पैदल हिँडेर म्याङ्लुङ आइपुग्ने गरेका थिए । १२ किमी दूरीको जिरीखिम्ती–मोराहाङ खण्डमा पनि अहिले दैनिक बस सेवा सञ्चालन भइरहेको यातायात व्यवसायी डिल्ली रेग्मीले बताए । बस सञ्चालनसँगै मेन्छ्यायेम गाउँपालिकाका मोराहाङ, श्रीजुङ र पौठाक गाउँका बासिन्दालाई समेत सहज भएको छ ।

उनीहरु जिरीखिम्ती बजार र सदरमुकाम म्याङ्लुङ आएर किनमेल गरी एकैदिन घर पुग्ने भएका छन् । “सडक त थियो, तर सवारी थिएनन्,” स्थानीयवासी भीम भट्टराईले भने, “बस नचल्दा कि हिँड्नुपर्थ्यो, नभए महङ्गो भाडा तिरेर ट्याक्सी चढ्नुपर्थ्यो, ट्याक्सीले पनि नियमित सेवा नदिँदा यातायात सेवा भरपर्दो थिएन ।” विकास र विस्तारका हिसाबले सबैभन्दा पछि रहेको यो गाउँपालिकाको केन्द्र मोराहाङ बजारमा समेत अहिले चहलपहल बढेको छ ।

जिल्लाको सदरमुकाम म्याङ्लुङ्ग हुँदै लालीगुराँस नगरपालिकाको बसन्तपुर भएर कोसी राजमार्ग हुँदै धरान, विराटनगरसम्म निरन्तर सवारी सञ्चालन हुन्छ । यसबाहेक स्थानीय तह गठन भएपछि आठराई गाउँपालिका, फेदाप गाउँपालिका र छथर गाउँपालिकामा पनि नियमित सवारी सञ्चालन भइरहेको व्यवसायी रेग्मीले बताए । छथरको शुक्रबारेदेखि दैनिक धरान र विराटनगरसम्म जाने तीन वटा बस सञ्चालनमा छन् । रासस

प्रकाशित मिति : ७ पुस २०७५, शनिबार ००:००