१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कर्णाली प्रदेशमा विकास खर्च बढाउँछौँः मन्त्री ज्वाला



पुस ६, वीरेन्द्रनगर । कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले विकास खर्च हुने गरी काम अघि बढेको बताएका छन् ।

मन्त्री ज्वालाले आवश्यक कानून र कर्मचारीको अभावका कारण विकास खर्च हुन नसकेको भन्दै त्यसको खर्चको लागि प्रक्रिया अगाडि बढाएको बताए । यसको लागि बोलपत्र प्रक्रिया अगाडि बढाउनेदेखि समिति गठनजस्ता काम अगाडि बढाउने गरी योजना बनाएको बताए ।

आर्थिक मामिला तथा योजना मन्त्रालयले आज वीरेन्द्रनगरमा आयोजना गरेको कार्यक्रममा मन्त्री ज्वालाले भने, “यसपटक पहिलो वर्ष भएकाले पनि सोचेजस्तो खर्च भएको छैन, अब विकास खर्च गर्ने गरी काम गछौँ ।” त्यसैगरी प्रदेश सरकारले वैदेशिक सहयोग जुटाउनको लागि तत्पर रहेको बताए । उनले कर्णाली प्रदेशमा लगानीमैत्री वातावरणको लागि सरकार लागिपरेको उल्लेख गरे ।

सङ्घीय सरकार कर्णालीमैत्री भएमा यस प्रदेशमा विकास निर्माणका काम अगाडि बढाउन सहज हुने ज्वालाको भनाइ थियो । कार्यक्रममा मन्त्रालयका सचिव ढुण्डीप्रसाद निरौलाले मन्त्रालयले हालसम्म दुई अर्ब ५० करोड ८३ लाख खर्च भएको जानकारी दिए जसमध्ये आकस्मिक कोषमा दुई अर्ब र प्रदेशका सबै स्थानीय तहमा २० करोड रहेको छ । अख्तियारीमार्फत ३० करोड ८३ लाख खर्च भएको उनले बताए । यसरी हेर्दा अहिलेसम्म ११ प्रतिशत प्रगति भएको मन्त्रालयका सचिव निरौलाको भनाइ थियो ।

कार्यक्रममा कर्णाली प्रदेश योजना आयोगका सदस्य दीपेन्द्र रोकायले विकास निर्माणमा गाँठा फुकाउने काम भइरहेको बताए । यस प्रदेशलाई ‘प्रोजेक्ट’ बैंकका रुपमा विकास गरिने उनको भनाइ थियो । आयोगका सदस्य रोकायले कर्णाली प्रदेशलाई सडक, विद्युत्, एकीकृत बस्ती विकासजस्ता पूर्वाधार निर्माण तथा अर्गानिक प्रदेशको रुपका विकास गर्ने गरी काम अगाडि बढेको बताए । रासस

प्रकाशित मिति : ६ पुस २०७५, शुक्रबार ००:००