१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भरतपुर महानगरले सुविधासम्पन्न सभागृह बनाउने



 

मङ्सिर १९, चितवन । लामो समयको कसरतपछि जिल्लामा सुविधासम्पन्न सभागृह बन्ने टुङ्गो लागेको छ । भरतपुर महानगरपालिकाले पहिले प्रस्ताव गरेका दुई ठाउँमा विवाद भएपछि जिल्ला समन्वय समितिको पार्क निर्माणका लागि छुट्याइएको ठाउँमा सभागृह बनाउने निर्णय भएको हो ।

जिल्ला समन्वय समितिको कार्यालय पूर्वपट्टि रहेको चार बिघा चार कट्ठा जमीनमा सभागृह बनाउने निर्णय गरिएको हो । शहरी विकास विभागले सभागृह निर्माणका लागि ५० करोड विनियोजन गरिसकेको छ ।

जिल्ला समन्वय समिति चितवनका प्रमुख कृष्णकुमार डल्लाकोटीले सभागृह निर्माणका लागि समन्वय समिति र सम्पत्ति हस्तान्तरण समितिले निर्णय गरी सङ्घीय मामिला मन्त्रालयमा पठाइएको बताए । सभागृहसँगै उत्तरपट्टि व्यावसायिक सटरसमेत निर्माण गरी जिससको आन्तरिक आम्दानी बढाउन सहयोग हुने भएको छ ।

महानगरपालिकाले सभागृह निर्माण गर्न लागेको हो । महानगर प्रमुख रेनु दाहालले मन्त्रालयमा निर्णय गइसकेकाले छिट्टै काम अगाडि बढ्ने बताइन् । उनका अनुसार मन्त्रिस्तरीय निर्णयसँगै जग्गाको अन्तिम टुङ्गो लाग्नेछ ।

यसै साता शहरी विकास विभागका महानिर्देशक र विज्ञसहितको टोलीले स्थलगत निरीक्षण गरी छलफल गरिने उनले बताइन् । जग्गाको टुङ्गो लाग्नै समय लागेकाले छिटो काम गर्नका लागि विदेशी परामर्शदाता छनोट गरी नक्साङ्कन गर्ने तयारी महानगरले गरेको छ । दाहालका अनुसार दुई हजार ५०० जना क्षमताको ठूलो हलसँगै विभिन्न क्षमताका साना हलसमेत निर्माण गरिने छ ।

उनले भनिन्, “नेपालमा अहिलेसम्म बन्न नसकेका अत्याधुनिक सुविधासम्पन्न सभागृह हामी बनाउँछौँ ।” झण्डै २ अर्ब लाग्ने अनुमान गरिएको भन्दै उनले सबै खालका सुविधा सभागृहमा हुने बताइन् । देशकै मध्यभाग भएकाले राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरका कार्यक्रम गर्नसक्ने गरी सभागृहको नक्साङ्कन गर्ने तयारी गरिएको छ ।

महानगरले एक वर्षदेखि सभागृह निर्माणका लागि जग्गा खोजी थालेको थियो । बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको जग्गामा सभागृह बनाउने निर्णय गरे पनि नेपाली कांग्रेसले विरोध गरेको थियो ।

त्यस्तै जिससको पश्चिमतर्फको खुला चौरमा सभागृह निर्माणका लागि सर्वदलीय निर्णय भए पनि स्थानीयले विरोध गरेपछि महानगर पछि हटेको थियो । अहिले टुङ्गो लागेको ठाउँमा भने हालसम्म कुनै अवरोध आएको छैन ।
रासस

प्रकाशित मिति : १९ मंसिर २०७५, बुधबार ००:००