१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विकास निर्माणमा स्थानीयवासी जागरुक बन्नुपर्छः मुख्यमन्त्री पौडेल



मंसिर १६, चितवन । प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले विकास निर्माणका लागि स्थानीय आफै जागरुक बन्नुपर्ने बताएका छन् ।

धार्मिक पर्यटकीय गन्तव्यको रुपमा विकास हुँदै गएको भरतपुर महानगरपालिका–११ गणेशस्थान क्षेत्रको आज निरीक्षण गर्दै उनले गणेशस्थानलाई गणेशधामका रुपमा विकास गर्न प्रदेश सरकारले सहयोग गर्ने बताए ।

धाम निर्माणका लागि स्थानीय जुटेकामा खुशी व्यक्त गर्दै उहाँले गणेशधाम प्रदेश नं ३ को आकर्षक पर्यटकीय गन्तब्य बन्ने भएकाले भौतिक निर्माणको काममा ढिलाई नगर्न आग्रह गरे ।

सोही अवसरमा प्रदेश नं ३ का भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री दावादोर्जे लामाले गणेशधाम क्षेत्रका सामुदायिक वनमा उत्पादन मूलक फलफूलका विरुवा रोप्न आग्रह गर्दै गणेशधामलाई हरियाली बनाउन कृषि मन्त्रालयले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

प्रदेशसभा सदस्य विजय सुवेदी र गणेशस्थान व्यवस्थापन समितिका अध्यक्ष दिनेशकुमार चुकेले धाम निर्माणका लागि भइरहेका कार्यका बारेमा जानकारी दिए । गणेशधाम निर्माणका लागि यही मंसिर २२ देखि २९ गतेसम्म धनधाञ्याचल ज्ञान महायज्ञ तथा आध्यात्मिक महोत्सव २०७५ को आयोजना गरिएको छ ।

महायज्ञ सञ्चालनका लागि गणेशस्थान मन्दिर संरक्षण तथा संवद्र्धन समितिका अध्यक्ष दिनेशकुमार चुकेको संयोजकत्वमा पाँच हजार एक सदस्यीय मूल आयोजक समिति गठन गरिएको छ । महायज्ञमा युवावाचक पण्डित दीनबन्धु पोखरेलले प्रवचन दिनेछन् ।

विस्तृत अध्ययन प्रतिवेदन अनुसारको काम सम्पन्न गर्न करीब रु ८० करोड लाग्ने अनुमान गरिएको छ । ४४ बिघा जमिनमा गणेशधाम निर्माण गर्ने र २५ बिघामा तलाउ निर्माण गरिने छ ।

सो क्षेत्रमा विभिन्न मन्दिर, जल विनायक, गणेश, शिव पार्वतीको मूर्ति, सामुदायिक वन क्षेत्रमा तलाउ, पार्कलगायतका संरचना निर्माण हुने छन् । धाम निर्माणका लागि प्रदेश नं ३ सरकारले रु ८० लाख विनियोजन गरिसकेको छ । रासस

प्रकाशित मिति : १६ मंसिर २०७५, आइतबार ००:००