१ बैशाख २०८१, शनिबार | Sat Apr 13 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पोखरा महानगरले ७ वडाका कार्यालय भवन निर्माण गर्ने



 

मङ्सिर ११, कास्की । पोखरा महानगरपालिकाले वडा कार्यालय भवन नभएका वडामा चालू आर्थिक वर्षमै भवन निर्माण गर्ने भएको छ । विसं २०७३ फागुन २७ गते महानगर घोषणा भएको यहाँको ३३ वटा वडामध्ये अझै पनि सातवटा वडाका आफ्नै भवन नहुँदा सेवा प्रवाह प्रभावकारी बन्न नसकेको गुनासो बढेको छ ।

भाडाका घरमा कार्यालय सञ्चालन गर्नुपर्दा सेवाग्राहीलाई असुविधा हुनाका साथै जनप्रतिनिधि तथा कर्मचारीका लागि कार्यकक्ष अपुग छ । कतिपय वडामा पटक–पटक कार्यालय सर्दै हिँड्नुपर्ने बाध्यता भएकाले महानगरले चालू आवमै त्यस्ता वडा कार्यालयका सुविधासम्पन्न भवन बनाउन शुरु गरेको हो ।

महानगरका २, ७, ११, २५, २६, ३१ र ३२ नं वडा कार्यालयको आफ्नो भवन छैन । ती कार्यालयले हाल भाडाको घरबाट जेनतेन सेवा दिँदै आएका छन् ।

भवन निर्माणका लागि कार्यालयले चालू आवमा १० करोड बजेट विनियोजन गरेको महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले जानकारी दिए । महानगरको ११ नं वडा कार्यालयको भवन शिलान्यास भइसकेको छ भने वडा २ र ३१ को बोलपत्र आह्वान प्रक्रियामा छ । बाँकी सबै वडाका भवनको निर्माण चालू आवमै शुरु हुने र आगामी दुई वर्षभित्रमा सम्पन्न गरिसक्ने लक्ष्य रहेको उनको भनाइ थियो ।

वडा भवन निर्माण एकै वर्षमा पूरा नहुने भएपछि महानगरले त्यसका लागि बहुवर्षीय ठेक्काअनुसार चालू आवका लागि १० करोड छुट्टाएको बताएको छ ।

महानगरले भवन नभएका वडा कार्यालयको भवन निर्माण तथा भएकाको स्तरोन्नतिलाई पनि सँगसँगै अघि बढाउने भएको छ । गत आवमा केही वडाका भवन स्तरोन्नति गरिएकामा चालू आवमा १९, २३ र २४ का वडा कार्यालय भवनको माथिल्लो तलामा ट्रष्ट राखिने महानगरका सूचना अधिकारी गङ्गालाल सुवेदीले जानकारी दिए ।

वार्षिक नीति तथा कार्यक्रममा उल्लेख भएबमोजिम महानगरले कर तथा राजश्व सङ्कलनका काम वडा कार्यालयबाटै थालेको छ । महानगरमा हुने अनावश्यक भीडभाड कम गर्ने र जनतालाई आफ्नो पायक पर्ने ठाउँबाट सेवा दिने नीतिअनुसार महानगरका ३३ वटै वडाबाट कर तथा राजश्व सङ्कलन गर्ने लक्ष्य महानगरको भए पनि वडाका आफ्नै भवन नहुँदा असुविधा भएको हो ।
रासस

प्रकाशित मिति : ११ मंसिर २०७५, मंगलबार ००:००