९ बैशाख २०८१, आइतबार | Sun Apr 21 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

म्याग्दीमा प्राङ्गारिक मल उद्योगको उत्पादन सफल



 

मङ्सिर १०, गलेश्वर । कृषि क्षेत्रमा प्राङ्गारिक क्रान्ति ल्याउने उद्देश्यका साथ म्याग्दीको मङ्गला गाउँपालिकाले शुरु गरेको प्राङ्गारिक मल उद्योगको परीक्षण उत्पादन सफल भएपछि नेपालका विभिन्न जिल्लाबाट अवलोकन गर्न आउनेको सङ्ख्या बढ्दै गएको छ ।

गाउँपालिकाले खेतीयोग्य जमीनको दिगो संरक्षण र स्वस्थ्यकर बाली उत्पादनका लागि किसानलाई तालीम तथा अनुदानको सुविधासहित गत वर्ष प्राङ्गारिक मल उद्योग सञ्चालन गरेको हो । एक वर्षको अवधिमा परीक्षण उत्पादनदेखि बिक्री वितरणसमेत सफल भएपछि अहिले यो उद्योगको चर्चा देशैभरि फैलिएको छ ।

प्राङ्गारिक मल उद्योगको हालै प्यूठान जिल्लाका जनप्रतिनिधिले अवलोकन भ्रमण गरेका छन् । प्यूठान नगरपालिका–४ का वडाध्यक्ष प्रकाशराज भण्डारीको नेतृत्वको एक टोलीले भ्रमण गर्दै उनले मङ्गलाको प्रयोग आफ्नो वडामा गर्ने प्रतिबद्धता जनाएका छन् । त्यसअघि पनि नेपालका विभिन्न जिल्लाबाट मल उद्योगको अवलोकनका लागि कृषक र जनप्रतिनिधि आएका मङ्गला गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकाले बताए ।

मल उद्योगको स्थापनाले बजार क्षेत्रमा सड्ने फोहरको समेत व्यवस्थापन भएको, कृषकले प्राङ्गारिक मलको मात्र प्रयोग गर्न थालेका र माटोमा अम्लियपना कम हुँदै गएपछि उत्पादन पनि बढ्न थालेको अध्यक्ष रोकाले बताए ।

गाउँपालिकाले पहिलो चरणमा ४० जना किसानलाई तालीम तथा अनुदान दिई प्राङ्गारिक मल उद्योग सञ्चालन गर्न लगाएको थियो । उद्योगबाट दैनिकरुपमा दुई ट्र्याक्टर मल उत्पादन हुने गरेको छ । उत्पादिन मल गाउँपालिका र जिल्लाका अन्य ठाउँका कृषकले खरीद गर्ने गरेका मङ्गला गाउँपालिकाले जनाएको छ ।

अध्यक्ष रोकाले रासायनिक मलको प्रयोगले क्षणिकरुपमा उत्पादन वृद्धि भए पनि दीर्घकालीन रुपमा माटोका उर्बरा शक्ति नष्ट गर्ने, चिस्यान धारण क्षमता घट्ने, उत्पादित बाली पूर्णरुपमा स्वस्थकर नहुने र वातावरणमा समेत नकारात्मक असर गर्ने हुँदा प्राङ्गारिक मलको प्रयोग गर्न किसानलाई अनिवार्य गराइएको जानकारी दिए ।

अध्यक्ष रोकाले गाउँपालिकाले ‘एक गाउँ एक उद्योग’को अवधारणासमेत लिएको बताउँदै मङ्गला गाउँपालिका जिल्लामै कृषि उत्पादनमा पकेट क्षेत्रको रुपमा समेत चिनिएकाले आयातित मललाई विस्थापित गर्ने अभियान रहेको बताए ।
रासस

प्रकाशित मिति : १० मंसिर २०७५, सोमबार ००:००