१७ बैशाख २०८१, सोमबार | Tue Apr 30 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पाटन नगरपालिकामा ५ सय ३१ योजना सम्पन्न



मंसिर ९, बैतडी । हरेक तीन/तीन महीनामा सार्वजनिक सुनुवाई गर्नुपर्ने भए पनि बैतडीको पाटन नगरपालिकाले जनप्रतिनिधि आएपछि शनिबार पहिलो सार्वजनिक सुनुवाई सम्पन्न गरेको छ ।

गत आर्थिक वर्षमा ५ सय ३१ वटा योजना बजेट विनियोजन गरेर सम्पन्न गरेको जनाइएको छ । ५१ नगरस्तरीय, ३ सय ३१ वडास्तरीय र १ सय ३ वटा सशर्ततर्फका योजना सम्पन्न गरेको नगरपालिकाले जनाएको छ । गत आवमा नगरपालिकाले ४८ करोड ५९ लाख रुपैयाँ विनियोजन गरेको थियो ।

नगरपालिकाले सडक निर्माणलाई प्राथमिकतामा राखेर ६८ वटा सडकसहित भौतिक पूर्वाधारतर्फ ५ करोड १५ लाख रुपैयाँ खर्च गरेको छ । नगरपालिकाले आयोजना गरेको सार्वजनिक सुनुवाइका सहभागीहरुले टुक्रे योजनाका कारण विकासको कामले गति नलिएको गुनासो गरेका छन् । धेरै ठाउँमा कार्यकर्तामुखी बजेट भएको समेत उनीहरुले आरोप लगाएका छन् ।

कार्यक्रममा उठेका प्रश्नको जवाफ दिँदै नगरप्रमुख केशवबहादुर चन्दले कतिपय अधिकार अझै स्थानीय तहमा आउन नसकेकाले सोचेअनुसार काम गर्न नसकेको बताए ।

यस्तै गत आवको बजेटमा रु तीन करोड ३५ लाखभन्दा बढी बेरुजु देखिएको छ । नगरपालिकाको बेरुजु रकमप्रति पनि सुनुवाइका सहभागीले असन्तुष्टि जनाएका छन् ।

चालू आवमा नगरसभाले ४ सय ५० वटा योजना छनौट गरेको प्रमुख प्रशासकीय अधिकृत रवीन अधिकारीले जानकारी दिए । नगरसभाले चालू आवमा ४६ करोड ६३ लाख रुपैयाँ विनियोजन गरेको छ ।

नगरवासी आक्रोशित

ढिलो सार्वजनिक सुनुवाइ गरिएको भनी नागरिक आक्रोशित थिए । नगरपालिकाको नीति तथा कार्यक्रममा समेटिएका कुरा कागजमै सीमित भएको धेरैले गुनासो गरेका छन् ।

पाटन–६ का चमनकुमार भण्डारीले भने, “हाम्रो नगरपालिकामा धेरै काम नागरिकलाई झुक्याउने तरिकाले भएका छन् । गुनासो बढी आउने डरले आजसम्म सुनवाई नभएको हो ।” भएको सुनुवाई पनि प्रक्रिया पु¥याउन मात्रै आयोजना गरेको भण्डारीको आरोप थियो ।

पाटन नगर कार्यपालिकाले बनाएका नीति तथा कार्यक्रम कार्यान्वयन नभएको पाटन–८ का हरिश बिष्टले पनि गुनासो गरे । २०७४/७५ मा नगरपालिकाको बेरुजु ३ करोड रुपैयाँभन्दा बढी देखिएको छ ।

रकम खर्च गर्दा अनियमितता भएको भन्दै यसप्रति पनि नागरिकले गुनासो गरेका छन् । उनीहरूले हरेक तीन महिनामा सार्वजनिक सुनुवाइ गरी नगरपालिकाको कामबारे नागरिकलाई जानकारी गराउन आग्रह गरेका थिए ।

विगतमा विभिन्न समस्या र व्यस्तताका कारण केही काम समयमै पूरा हुन नसके पनि आगामी दिनमा भने सबै कार्यक्रम समयमै सम्पन्न गर्ने नगरप्रमुख केशवबहादुर चन्दले बताए । रासस

प्रकाशित मिति : ९ मंसिर २०७५, आइतबार ००:००