२० मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

‘कर्मचारी अभावले बजेट कार्यान्वयनमा समस्या’



 

कात्तिक १९, पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले भौतिक पूर्वाधार र आवश्यक कर्मचारी अभावका कारण प्रदेश सरकारलाई बजेट कार्यान्वयमा अप्ठ्यारो परेको बताएका छन् ।

प्रदेशसभा सचिवालयको आयोजना एवं संसद् सहयोग र न्यायमा पहुँच परियोजना सयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रमको सहकार्यमा यहाँ आयोजित कार्यक्रमको उद्घाटन गर्दै उनले विकास निर्माण, भ्रष्टाचार नियन्त्रण, शान्ति सुरक्षा र निजामती सेवा ऐन सम्बन्धमा सङ्घीय सरकारले तुरुन्त बाटो खोल्नु अपरिहार्य रहेको धारणा व्यक्त गरे ।

पर्यटन विकासका लागि सरकारले विनियोजन गरेको ५० करोड कार्यान्वयनका लागि पर्यटन प्रवर्द्धन केन्द्र स्थापना गरिनुपर्नेमा उनको जोड थियो । प्रदेश सरकारले हालसम्म १८ वटा कानून निर्माण गरेर प्रमाणीकरण समेत भइसकेको जानकारी दिँदै उनले ३० वटाभन्दा बढी कानूनको मस्यौदा तयार भइरहेको बताए ।

नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङले नेपालको संविधानले व्यवस्था गरेअनुरुप सङ्घले प्रदेश र स्थानीय सरकारलाई सूचीअनुसार कानून निर्माणमा सहज बनाउनुपर्नेमा जोड दिए ।

प्रदेशका सभामुख नेत्रनाथ अधिकारीले प्रदेशअन्तर्गतका विभिन्न समिति र सभा सदस्यलाई कानून निर्माणका साथै अधिकार एवं कर्तव्यनिष्ठ बनाउन तालीम उपयोगी बन्ने विश्वास व्यक्त गरे । उपसभामुख सिर्जना शर्माले संविधान कार्यान्वयनका चुनौती र कानून निर्माणमा देखिएका अन्योलको अन्त्य गर्नुपर्नेमा जोड दिए ।

युएनडिपीका सहायक देशीय निर्देशक यामनाथ शर्माले मुलुकको दिगो विकासका लागि संसदीय अभ्यास प्रभावकारी हुने विश्वास व्यक्त गरे । दुईदिने उक्त कार्यक्रममा प्रदेशअन्तर्गतका मन्त्री, प्रदेशसभा सदस्य र कर्मचारी सहित १५० जनाको सहभागिता छ ।
रासस

प्रकाशित मिति : १९ कार्तिक २०७५, सोमबार ००:००