१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रदेश नं ५ ले जनता आवास कार्यक्रम कार्यान्वयन गर्ने



 

कात्तिक १६, बुटवल । सीमान्तकृत र विपन्न समुदायको बसोबासका लागि ल्याइएको जनता आवास कार्यक्रमलाई प्रदेश नं ५ ले कार्यान्वयन गर्ने भएको छ ।

प्रदेश नं ५ मन्त्रिपरिषद्को आजको बैठकले भौतिक पूर्वाधार विकास मन्त्रालयको प्रस्तावमा जनता आवास कार्यक्रम कार्यान्वयन कार्यविधि २०७५ लाई स्वीकृत गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा भौतिक पूर्वाधार विकासमन्त्री वैजनाथ चौधरीले जानकारी दिए ।

यसैगरी बैठकले रिब्दिकोट गाउँपालिकाको नाम संशोधन गरी रिब्दिकोट भैरव राख्ने सम्बन्धित गाउँपालिकाको प्रस्ताव नेपाल सरकारसमक्ष पठाउन स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ । प्रदेश नं ५ को प्रशासकीय कार्यविधि सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको अवधारणा पत्रमा सैद्धान्तिक स्वीकृति प्रदान गर्ने निर्णय पनि बैठकले गरेको प्रवक्ता चौधरीले बताए ।

बैठकले प्रदेश नं ५ जाँचबुझ आयोगको गठन तथा काम कर्तव्य र अधिकारको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक तथा प्रदेश नं ५ सिँचाइ सेवाको निर्माण एवं व्यवस्थापन गर्न बनेको अवधारणा पत्रमा सैद्धान्तिक स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ ।

यसैगरी प्रदेश नं ५ सङ्घ संस्था दर्ता सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकलाई आगामी प्रदेशसभा बैठकमा प्रस्तुत गर्न स्वीकृति प्रदान गर्ने निर्णय बैठकले गरेको प्रवक्ता चौधरीले जानकारी दिए ।

बैठकले प्रदेश नं ५ विद्युत्को विकास निर्माण एवं व्यववस्थापन गर्न बन्ने विधेयकको अवधारणा पत्र, प्रदेश नं ५ खानेपानी सेवाको विकास एवं व्यवस्थापन गर्न बन्ने विधेयकको अवधारणा पत्र, प्रदेश नं ५ औद्योगिक व्यवसाय सम्बन्धमा व्यवस्था गर्न बन्ने विधेयकको अवधारणा पत्र र प्रदेश नं ५ स्वास्थ्य सेवासम्बन्धी व्यवस्था गर्न बन्ने विधेयकको अवधारणा पत्रमा सैद्धान्तिक स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ ।

प्रवक्ता चौधरीका अनुसार, प्रदेश नं ५ बीउबिजन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, प्रदेश नं ५ मल व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र दाना पदार्थका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रदेशसभामा पेस गर्न स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ । प्रदेशसभाको आगामी बैठकमा ४० वटा कार्यविधि र नियमावली लैजाने तयारी भइरहेको समेत प्रवक्ता चौधरीले जानकारी दिए ।
रासस

प्रकाशित मिति : १६ कार्तिक २०७५, शुक्रबार ००:००