२ पुस २०८२, बुधबार | Thu Dec 18 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

स्थानीय लगानीमा पूर्वाधार निर्माण



 

कात्तिक १६, म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका ५ किन्दुका बासिन्दाले ९१ लाख जुटाएर विकासका पूर्वाधार निर्माण गरेका छन् । पोखरा, काठमाडौं लगायत देशका विभिन्न शहर, बेलायत, हङ्कङ, अमेरिका लगायतका देशमा पुगेका किन्दुका बासिन्दाको सहयोग र स्थानीयको श्रमदानमा सडक, सामुदायिक भवन, सत्तल र खेलमैदान निर्माण भएको हो ।

समुदायको ९१ लाखको लगानीमा निर्माण भएको स्वाँत–किन्दु ग्रामीण कृषि सडक, बहुद्देश्यीय खेल मैदान, सामुदायिक भवन र छिर्केश्वर मन्दिर परिसरको सत्तलको बिहीबार गण्डकी प्रदेशका सामाजिक विकासमन्त्री नरदेवी पुन र सांसद विनोद केसीले उद्घाटन गरे ।

किन्दु टोल विकास समिति र सिख्तानी समाजको पहलमा आर्थिक स्रोत जुटाइएको थियो । ४९ लाख २३ हजार ७७५ मा ६.५ किमी सडक, २८ लाख ५५ हजारमा खेल मैदान, सात लाख ४४ हजारमा सभा हल र पाँच लाख ७४ हजार ७७० मा सत्तल निर्माण भएको निर्माण समितिका अध्यक्ष पदमबहादुर चोचाङले बताए ।

पूर्वाधार निर्माणका लागि ८० घरधुरी किन्दुवासीले चार लाख २५ हजार बराबरको श्रमदान, तत्कालीन जिल्ला विकास समितिले एक लाख ८० हजार र अन्नपूर्ण गाउँपालिकाले चार लाख ३८ हजार सहयोग गरेका छन् । सडक, सभाहल, खेल मैदान र सत्तल निर्माणपछि आवतजावत, ढुवानी, तरकारी निकासी, खेल अभ्यास, प्रतियोगिता सञ्चालन, तालीम, गोष्ठी, भेला सञ्चालन गर्न सहज भएको किन्दुका ज्ञानबहादुर शेरपुञ्जाले बताए ।

उद्घाटन समारोहमा मन्त्री पुन, सांसद केसी र गाउँपालिकाका अध्यक्ष पुनले किन्दुवासीले राज्यको तुलनामा धेरै आर्थिक स्रोत जुटाएर विकासका पूर्वाधार तयार पारेर विकासमा जनसहभागिताको नमूना प्रस्तुत गरेको बताए ।
रासस

प्रकाशित मिति : १६ कार्तिक २०७५, शुक्रबार ००:००