असोज २९, वीरेन्द्रनगर । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले जल, जमीन, पर्यटन र जडीबुटीको खानी भएको प्रदेशवासीले आगामी दिनमा सहयोगको याचना गर्न नपर्ने बताएका छन् ।
सुर्खेतको वीरेन्द्रनगरमा आइतबार आयोजित पत्रकार सम्मेलनमा उनले कर्णाली प्रदेशमा धेरै सम्भावना भएकाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय लगानीकर्ता कर्णालीमा लगानी गर्न इच्छुक रहेको जानकारी दिए ।
बजेटको अख्तियारी नहुँदा, जनशक्ति अभाव हुँदा र अनुभवी जनशक्तिको अभावका कारण प्रदेश सरकार सञ्चालनमा अप्ठ्यारो भएको उल्लेख गर्दै मुख्यमन्त्री शाहीले आइपर्ने समस्याको सम्बोधन गरेर अगाडि बढ्ने बताए । उनले सांसदले मागेको रातो किताब तयार पारिसकेको र सांसदको सेवा सुविधाबारे छलफल भइरहेको जानकारी दिए ।
कार्यक्रममा प्रमुख सचिव रामप्रसाद थपलियाले अहिलेसम्म २७ पटक मन्त्रिपरिषद् बैठक बसेको जानकारी दिँदै प्रदेश सरकारले विभिन्न राम्रा निर्णय गर्न सफल भएको जिकिर गरे । उनले अहिलेसम्म ५५ कानूनी बुँदा तयार भएको उल्लेख गर्दै कर्मचारीका अभावले गर्दा काम गर्न कठिनाइ आएको उल्लेख गरे ।
रासस


प्रतिक्रिया