५ पुस २०८२, शनिबार | Sat Dec 20 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सम्पदा बस्तीको मौलिक पुनर्निर्माण हुनुपर्नेमा जोड



असोज २०, काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले सम्पदा बस्तीको मौलिक ढङ्गमा पुनर्निर्माणका लागि प्रोत्साहनका कार्यक्रम ल्याइएको बताएका छन् ।

बुङ्गमती क्षेत्र पुनःनिर्माण तथा विकास परिषद्को प्रथम वार्षिक साधारणसभामा आज बुङ्गमतीमा सम्बोधन गर्दै उनले सम्पदा बस्तीभित्रका घर मौलिक शैलीमा पुनःनिर्माण गर्दा प्रतिघर ५० हजार रुपैयाँ थप रकम दिने उनले जानकारी दिए ।

“बुङ्गमतीको मौलिक स्वरुपमा पुनःनिर्माण गर्दा धेरै संख्यामा पर्यटक भित्र्याउन सकिन्छ,” उनले भने, “सम्पदा बस्ती पुनर्निर्माणका लागि पूर्वाधार विकास गर्न पनि प्राधिकरणले सहयोग गर्नेछ ।”

कार्यक्रममा सङ्घीय सांसद पम्फा भुसालले बुङ्गमतीलाई समेटेर सम्पदा पर्यटकीय चक्रपथ बनाउने योजना रहेको बताइन् । “कला, संस्कृति र सम्पदाको संरक्षणबाट नै यस क्षेत्रको संवृद्धि संभव छ । सम्वृद्धिका लागि पनि मौलिक बस्ती पुनःनिर्माणमा सबैले सहयोग गर्नुपर्छ,” भूषालले भनिन् ।

प्रदेशसभा सदस्य जीवन खड्काले यसअघिको कार्यकालमा प्रधानमन्त्री केपी शर्मा ओलीले बुङ्गमती पुनःनिर्माणको गुरुयोजना अनावरण गरेको बताउँदै त्यसलाई सफल पार्न स्थानीयवासीको पनि महत्वपूर्ण भूमिका रहने बताए ।

बुङ्गमती क्षेत्रमा ८ सय ५ जनाले निजी आवास निर्माणका लागि अनुदान सम्झौता गरेका छन् । त्यसमध्ये ५ सय ९३ पीडितले पहिलो किस्ता लिएका छन् । घर निर्माण शुरु गरेर दोस्रो किस्ता लिने लाभग्राहीको संख्या भने निकै कम रहेको उनले बताए ।

भूकम्प प्रभावित लाभग्राहीले नक्सा बनाउन नसक्नु, सम्पदा क्षेत्र भएका कारण पास गर्न कठिनाइ हुनु, भोगचलनको समस्या तथा घरजग्गा दर्ता नहुनुलगायतका समस्याहरू छन् ।

पुनर्निर्माणको शुभारम्भ कार्यक्रम वि.संं २०७२ माघ २ गते प्रधानमन्त्री ओलीले युएन ह्याबिट्याटले निर्माण गरेको बुङ्गमती गुरुयोजनाको नक्सा अनावरण गरेका थिए । रासस

प्रकाशित मिति : २० आश्विन २०७५, शनिबार ००:००