८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कर्णाली प्रदेशः डेढ करोड लगानीमा विषादी प्रयोगशाला केन्द्र



 

असोज १२, वीरेन्द्रनगर । कर्णाली प्रदेशमा विषादी प्रयोगशाला केन्द्र स्थापनाका लागि एक कराेड पचास लाख बजेट छुट्याइएको छ ।

कर्णालीलाई जैविक प्रदेशका रुपमा विकास गर्ने उद्देश्यले प्रदेश सरकारले सुर्खेतको हर्रे र सल्यानको कपुरकोटमा उक्त प्रयोगशाला स्थापनाका लागि डेढ कराेड बजेट छुट्याएको हो । दशैँ लगत्तै प्रयोगशाला स्थापनाको काम शुरु हुने भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विमला केसीले जानकारी दिइन् ।

बाहिरी जिल्लाबाट कर्णाली भित्रिने तरकारी लगायतका वस्तु परीक्षणका लागि प्रयोगशाला स्थापना गर्न लागिएको उनले बताइन् । सरकार गठन भएपछिको पहिलो मन्त्रिपरिषद् बैठकले यस प्रदेशभित्र प्राङ्गारिक कृषि विस्तार र रैथाने बाली संरक्षण गर्ने निर्णय गरेको थियो ।

‘‘हाम्रो पहिलो लक्ष्य विषादी प्रयोग भएका वस्तु कर्णाली प्रदेशमा भित्रिन नदिने हो, यसका लागि दुई वटा मुख्य नाकामा प्रयोगशाला स्थापना गछौं’’ कृषि मन्त्री केसीले भनिन्, ‘‘यसका लागि प्रदेशलाई प्राङ्गारिक बनाउनका लागि अन्य कार्यक्रम पनि ल्याएका छौं ।’’ उक्त कार्यका लागि मन्त्रालयले कर्णाली प्रदेश प्राङ्गारिक बाली वस्तु उत्पादन र नियमनसम्बन्धी ऐनको मस्यौदा पनि गरिरहेको छ ।

त्यसैगरी मन्त्रालयले मुगुको खत्याड र सोरु गाउँपालिका, कालिकोटको सान्नीत्रिवेणी गाउँपालिका, जुम्लाको सिंजा क्षेत्र, हुम्लाको ओदानचुली र ताजाकोट गाउँपालिका, डोल्पाको त्रिपुरासुन्दरी र ठूलोभेरी नगरपालिका, दैलेखको भगवतीमाई गाउँपालिका, रुकुमको आठबीसकोट नगरपालिका, सल्यानको कुमाख गाउँपालिका र सुर्खेतको सिम्ता गाउँपालिकामा प्राङ्गारिक नमूना प्रयोगशाला निर्माण गर्ने तयारी गरेको छ ।
रासस

प्रकाशित मिति : १२ आश्विन २०७५, शुक्रबार ००:००