असोज १०, दमौली । तनहुँको भानु नगरपालिकाले चालु आर्थिक वर्ष ०७५÷७६ का लागि पारित गरेको बजेट सार्वजनिक गरेको छ । असार महिनामै पारित भइसक्नुपर्ने बजेट नगरसभाले असोज महिनामा पारित गरेको हो ।
भदौको अन्तिम साताबाट मात्रै भानुको नगरसभा शुरु भएको थियो । नगरपालिकाका जनप्रतिनिधिको आन्तरिक विवादले बजेट सार्वजनिकमा ढिलाइ भएको हो ।
भानु नगरपालिकाका प्रमुख उदयराज गौलीले नगरसभाबाट पारित भएको ७६ करोड ६७ लाख ८६ हजार ६१४ को बजेट सार्वजनिक गरे । सार्वजनिक बजेटअनुसार पूँजीगत तर्फ २९ करोड १२ लाख १६ हजार ६१४ र चालु तर्फ २० करोड २९ लाख ७० हजार रहेको छ । सार्वजनिक बजेटमध्ये २७ करोड २६ लाख सर्शत अनुदान तर्फको रहेको नगर प्रमुख गौलीले बताए ।
‘कृषि, पर्यटन, उद्योग, साहित्य एवं पूर्वाधार ः सभ्य, समुन्नत एवं समृद्ध भानु निर्माणको आधार’ भन्ने नारालाई आत्मसाथ गरेर बजेट निर्माण गरिएको उनको भनाइ छ ।
थानीमाई, मिर्लुङकोट, कृपेश्वर महादेव मन्दिर, कोटगाउँ पर्यटन क्षेत्र, बाँसपानी होमस्टे, टुटेपानी होमस्टे, रानागाउँ होमस्टे लगायतका पर्यटन क्षेत्रमा बजेट विनियोजन गरिएको छ ।
रासस


प्रतिक्रिया