१५ मंसिर २०८२, आइतबार | Sun Nov 30 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रदेश १ का ६ जिल्लामा सडक सुशासन अभियान सञ्चालन



 

मनोज दाहाल
भदौ २९, विराटनगर ।

सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले प्रदेश नं १ स्थित ६ जिल्लामा सडक सुशासन अभियान लागू गरिने भएको छ । आन्तरिक मामिला तथा कानून मन्त्रालयद्वारा बिहिबार आयोजित ‘सडक सुशासन तथा सुरक्षा’ विषयक प्रदेशस्तरीय अभिमुखीकरण कार्यक्रममा स्थानीय तहसँगको सहकार्यमा प्रदेश सरकारले सो अभियान सुचारु गर्न लागिएको जनाएको छ ।

पहिलो चरणअन्तर्गत मोरङ, सुनसरी, झापा, इलाम, धनकुटा र उदयपुर जिल्लाका १० किलोमिटर क्षेत्रको राजमार्गलाई विकास गरी नमूना सडक सुशासन अभियान लागू गर्नेछ ।

अभियान अन्तर्गत मोरङ विराटनगरको मेनरोड, सुन्दरहरैचा र गछिया राजमार्ग, सुनसरीको इटहरी बुढीखोलादेखि रामधुनी झुम्का बजार, झापा विर्तामोडको मुक्तिचोकदेखि सुरुङ्गाको माईखोला पुलसम्म नमूना सडक निर्माण गरिनेछ ।

यसैगरी इलामको किटेनी जोरकलमदेखि हर्कटे, धनकुटाको पात्लेखोला देखि कागतै चोक र उदयपुरको गाईघाट बजारदेखि जलजले ढाटसम्मको १० किलोमिटर राजमार्ग क्षेत्रलाई नमूना सडक निर्माण गरी प्रदेश सरकारले सडक सुशासन अभियान सञ्चालन गर्ने तयारी गरेको छ ।

ती राजमार्ग क्षेत्रभित्र समेटिने मोरङको विराटनगर, विराटचोक, सुनसरीको इटहरी बजार, झापाको लक्ष्मीपुर, विर्तामोड बजार, इलामको इलाम बजार, धनकुटाको भेडेटार बजार र उदयपुरको गाईघाट बजारलाई नमूना शहरको रुपमा विकास गरिने पनि जनाइएको छ ।

सो अवसरमा प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले पहिलो पल्ट प्रयोगमा ल्याउन लागिएको सडक सुशासन अभियानवाट सर्वसाधारण जनताले सडक प्रयोगमा सुरक्षाको अनुभूति प्राप्त गर्ने बताए ।

उक्त सडकहरुमा सुरक्षाको अनुभूति दिलाउने खालका मापदण्ड तयार पारिने बताउँदै उनले सडक दुर्घटनाबाट मृत्यु र घाइते हुने सङ्ख्या दिनप्रतिदिन बढ्दै गएको हुँदा प्रदेश सरकारले सो अभियान शुरु गर्न लागेको जानकारी दिए ।

आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्कीले सीमित साधान स्रोतको अधिकतम उपयोग गरी सडक दुर्घटना न्यूनीकरण गर्न सडक सुशासन अभियान सफल हुने विश्वास व्यक्त गरे ।

प्रदेश नं १ प्रहरी कार्यालयका प्रहरी नायब महानिरीक्षक केदार रिजालले विगत तीन वर्षको अवधिमा सवारी दुर्घटनावाट यस क्षेत्रमा एक हजार ७९ जनाको मृत्यु भएको जानकारी दिदैं सडक सुशासन कायम गरी दुर्घटना मृत्यु घटाउन अत्यन्त जरुरी भएको बताए ।
रासस

प्रकाशित मिति : २९ भाद्र २०७५, शुक्रबार ००:००