२८ मंसिर २०८२, शनिबार | Sat Dec 13 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बागागाड खोलामा पुल नहुँदा पुर्चौडी नगरबासिलाई समस्या



 

१ भदौ, बैतडी । बागागाड खोलामा पुल नहुँदा पुर्चौडी नगरपालिकाका बासिन्दालाई खोला तर्न समस्या भएको छ । नगरपालिकाको केन्द्र हाट जोड्ने खोलामा पुल नहुँदा भूमिराज, कोटिला लगायत ठाउँका बासिन्दालाई दैनिक उपभोग्य सामान खरिदका लागि बसन्तपुर बजारसम्म पुग्न समस्या भएको हो ।

पुर्चौडीको बजारहाट बसन्तपुर नजिक पुल नहुँदा वर्षात्मा जोखिम मोलेर खोला तर्नुपर्ने बाध्यता रहेको पुर्चौडी नगरपालिका–१ का बीरबहादुर गडालले बताए । उनले भने, “पुल भएको ठाउँमा समेत पहिरोले जान नसकिने अवस्था भएपछि अहिले नगरपालिका तथा बसन्तपुर बजार पुग्नेहरू खडीखेत पुल हुँदै आउनुपरेका छन् ।”

बसन्तपुर हाट बजार नजिक पुल नहुँदा आवतजावत गर्न समेत जोखिमपूर्ण रूपमा बागागाड खोला तर्नुपर्ने बाध्यता रहेको पुर्चौडी–७ कोटिलाका जयबहादुर विष्टले बताए । उनले भने, “वर्षात्को समयमा त कतिबेला खोलाले बगाउँछ भन्ने डर हुन्छ ।”

दैनिक उपभोग्य सामान किन्नसमेत हाट बसन्तपुर बजार पुग्नुपर्ने भएकोले बजार नजिकै पुल नहुँदा जोखिम हुने पुर्चौडी–७ कोटिलाका अर्जुन जोशीले बताए ।

उक्त खोलामा पुल नहुँदा वर्षात्मा विद्यार्थी पनि जोखिम मोलेर खोला तर्ने हुँदा स–साना बालबालिकालाई भने निकै किठन भएको पुर्चौडी बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख राजेन्द्र नेगीको भनाइ थियो ।

पुल निर्माणका लागि त्रिवेणीधाम नजिक सर्वेक्षण गरिए पनि प्राविधिक दृष्टिकोणले पुल निर्माण गर्न नसकिने प्राविधिकले जनाएको वडाध्यक्ष गडालले बताए । “झोलुङ्गु पुल निर्माणका लागि समस्या भए पनि आरसीसी पिलर भएको पुल निर्माणका लागि पहल गर्न नगरपालिकामार्फत आग्रह गरिरहेका छौं ।” उनले भने ।

बागागाड नदीको ५०० मिटरमाथि झोलुङ्गे पुल भए पनि पहिरोका कारण पुलसम्म पुग्ने बाटो अवरुद्ध भएको छ । बसन्तपुर बजार पुर्चौडी क्षेत्रको मुख्य बजार हो । पुर्चौडी क्षेत्रका साविकका १० गाविस दैनिक उपभोग्य समान किन्न बसन्तपुर बजार जाने गर्छन् ।
रासस

प्रकाशित मिति : १ भाद्र २०७५, शुक्रबार ००:००