१६ फाल्गुन २०८२, शनिबार | Sat Feb 28 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

‘मान्छे बोक्ने गाडीलाई नै बोक्नुप¥यो’



 

हिक्मतबहादुर नेपाली
३१ साउन, दैलेख– दुल्लु ।

जुम्ला जिल्लाका ५५ वर्षीय हरिबहादुर बुढा नेपालगञ्जतर्फ हिँडेको छ दिन पुगिसक्दा पनि अझै कर्णाली राजमार्ग अन्तर्गतको चामुण्डाविन्द्रासैनी नगरपालिकाको चिउरे खोलामै छन् ।

जुम्लामा खुद्रा तथा खाद्यान्न व्यापारका लागि सामान किन्न जान लागेका उनले भने, “हिउँदको समयमा दुई दिनमै नेपालगञ्ज पुग्थेँे तर अहिले छ दिन भइसक्यो अझै दैलेखमै छु” । समयसंगै खर्च पनि बढेको गुनासो गर्दै बुढाले भने, “हिउँदमा तीन हजार खर्च गरेर नेपालगञ्ज पुग्थेँ तर अहिले यहाँसम्म आइपुग्दा दशहजारभन्दा बढी खर्च भइसक्यो ।”

कञ्चनपुरबाट कालिकोटतर्फ जानलाग्दा चिउरेखोलाको जाममा रोकिएका रतन शाहीलाई पनि दैलेख आइपुग्नै चार दिन लाग्यो । उनी मात्र होइन, कोहलपुरबाट मुगु जान लागेका मुगुका बिर्खबहादुर शाही पनि चिउरे खोलाको जाममा फसे । कालिकोटदेखि सुर्खेत जाँदै गरेका सवारी चालक केशव पुजालीले कर्णाली राजमार्गकै सडकमा १२ भन्दा बढी स्थानमा जाममा फस्नुपरेको बताए ।

मुगु निवासी चालक शाहीले प्रदेश सरकारले वर्षातमा पनि निर्वाधरूपमा सवारी साधन सञ्चालनका लागि २० देखि ५० मिटरको दूरीमा जेसिभी र स्काभेटर राख्नुपर्ने सुझाव दिँदै भने, “सडकका दुर्दशा यस्तो हुनुमा सडक विभागको कमजोरी हो, कर्णाली प्रदेश सरकारले पनि बेवास्ता ग¥यो, यहाँ त मान्छे बोक्ने गाडीलाई नै मान्छेले बोक्नु प¥यो । ”

कर्णाली राजमार्ग हुँदै दैलेख, कालिकोट, जुम्ला, बाजुरा, अछाम, हुम्ला, मुगु जिल्ला जाने यात्रुले सास्ती बेहोर्नुपरिरहेको छ । कर्णाली राजमार्ग अन्तर्गतको सांगेतडा, चिउरे खोला, पादुका बजार लगायतका दुई दर्जन बढी स्थानमा पहिरो गएको छ । बुधबार दैलेखको चामुण्डाविन्द्रासैनी नगरपालिकाको चिउरे खोलामा गएको पहिरोका कारण बिहान १० बजेदेखि दिउँसो चार बजेसम्म ६ घण्टा भएको जाममा करिव ३०० सवारी साधनका एक हजार ५०० यात्रु अलपत्र परेका थिए ।

सडक विभागबाट खटिएका कामदार हर्क खड्काले कर्णाली राजमार्गमा दुईदर्जन भन्दाबढी स्थानमा पहिरो गएको बताए । दैलेखको आठवीस नगरपालिका–९ छेपाडीका गणेश सिजापतिका अनुसार कर्णालीका धेरै जिल्ला जोड्ने कर्णाली राजमार्ग मात्रै प्रमुख मार्ग भएकाले प्रदेश सरकार र केन्द्र सरकारले पनि यसमा विशेष प्राथमिकता दिनुपर्ने धारणा व्यक्त गरे । यसभन्दा अगाडि कर्णाली राजमार्गलाई ‘मृत्युमार्ग’ को रूपमा चिनिँदै आएको थियो । “अब मृत्युमार्गले चिनिँदै आएको राजमार्गमा यात्रुलाई सहजरूपमा आवातजावत गराउन पहल गर्नुपर्छ ।” उनले भने ।

सुर्खेतदेखि दैलेख हुँदै कर्णालीका विभिन्न जिल्ला पुग्ने उक्त राजमार्गमा कालोपत्रे भए पनि सडकमा सधैँ पानी जम्नु तथा सडकछेउका नाली माटोले भरिएर नियमित सरसफाइ र मर्मत सम्भार नहुनु मुख्य समस्या भएको यहाँका यात्रु बताउँछन् ।
रासस

प्रकाशित मिति : ३१ श्रावण २०७५, बिहिबार ००:००