साउन २४, बुटवल । रुपन्देही तिलोत्तमा नगरपालिकाले पुराना घरको नक्सा पाससम्बन्धी सेवा अब वडा कार्यालयबाटै प्रदान गर्न थालेको छ ।
प्राविधिक टोली खटाएर वडा नं १४ कार्यालयबाट नक्सा पास अभियान सञ्चालन गरेको नगरपालिकाले जनाएको छ । साविकका शंकरनगर, आनन्दवन, करहिया, मक्रहर, गंगोलीया, मधवलिया र टिकुलीगढ गाविस मिलेर बनेको तिलोत्तमा नगरपालिकामा नक्सा पासको प्रक्रियामा झण्डै पाँच हजार घर रहेको बताइएको छ ।
विगतमा घर बनाएका तर नक्सा पास नगरेका वा घर बनाएर सम्पन्नताको प्रमाणपत्र नलिएका र सम्पन्नता प्रमाणपत्र लिने प्रक्रियामा रहेका नगरका बासिन्दा यो अभियानबाट लाभान्वित हुने नगरप्रमुख वासुदेव घिमिरेले जानकारी दिए ।
उनले वडा नं १४ की कल्पनीदेवी थारु, शिवप्रसाद थारु र बेचुप्रसाद थारुलाई घर सम्पन्नताको प्रमाणपत्र दिएर यो अभियानको शुरुवात गरे । यसपछि यो अभियान वडा नं १३ मा सञ्चालन हुने नगरपालिकाले जनाएको छ ।
रासस




प्रतिक्रिया