१६ माघ २०८२, बिहिबार | Thu Jan 29 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

म्यार्दी खोलामा पुल निर्माण, मनाङको यात्रा सहज



 

नवीन लामिछाने
साउन २२, मनाङ ।

मनाङ र लमजुङको सिमानामा रहेको म्यार्दी खोलामा मोटर चल्ने पुल निर्माण भएको छ । सडक डिभिजन कार्यलय तनहुँको आर्थिक लगानीमा क्यारवाहन कन्सलटेन्सी कम्पनीले दुई करोडमा पुल निर्माण गरेको हो ।

पुल निर्माणले मनाङ लमजुङको यात्रा सहज भएको छ । खोलामा बाढी आउने र यात्रु अलपत्र भएर बस्नुपर्ने समस्या हटेको छ । “अब त पुल बन्यो हाम्रो यात्रा सहज बन्यो, समयमा नै गन्तब्यमा पुग्न सजिलो भयो,” स्थानीयवासी पार्वती गुरुङको भनाइ छ ।

पुल नहुँदा खोलाले धेरै दुःख दिएको तीतो अनुभव सवारी चालक नेत्रबहादुर गुरुङले सुनाए । “सानो देखेर खोलामा गाडी हाल्यो बीचमा अड्किएर खोलामै बसेँ । गाडी बिग्रिएर ५० हजार लगाएर मर्मत गरेँ । पुल बनेर सहज भएको छ, अब त्यस्तो समस्या हँुदैन ।”

बेँसीशहर चामे सडकखण्डमा पर्ने यस खोलामा नेपाली सेनाले निर्माण गरेको बेलीबृज २०७२ साल असार ३१ गतेको बाढीले बगायो । त्यसबेला स्थानीयवासीको पहल र जिल्ला विकास समिति मनाङको सहयोगमा काठको अस्थायी पुल बनाई सवारीसाधन आवतजावत नियमित गरियो ।

अस्थायी काठको पुल एक वर्ष पनि नटिकेनपछि खोलाबाट नै सवारीसाधन आवतजावत गरिरहेका थिए । सडक डिभिजनसँग २०७५ असार मसान्तसम्ममा सम्पूर्ण काम सक्ने सम्झौता गरेर पुलको ठेक्का लिएको क्यारवाहन कन्सलटेन्सीले एक महिनापछि काम सम्पन्न गरेको छ ।

यस सडकखण्डमा पर्ने पिसाङ खोला, तिमाङ खोला सब्जेखोलामा अझै काम पूरा भएको छैन । लमजुङ र मनाङ जोड्ने मुख्य नाका नै म्यार्दी खोला भएकाले आफूहरुले यसलाई पहिलो प्राथमिकता दिएको कन्सलटेन्सीका इञ्जिनियर नारायण लामाले बताए । उनका अनुसार भौगोलिक विकटताका कारण समयमा काम सम्पन्न गर्न कठिन भएको र सम्झौताभन्दा ढिला हुन पुगेको हो ।

लामाका अनुसार यस सडकखण्डमा पर्ने तिमाङ खोला, पिसाङ खोला र स्यार्कु खोला पनि क्यारवाहन कन्सलटेन्सीले नै लिएको छ । २२ करोडमा मनाङका पाँच खोलामा मोटर चल्ने पुल निर्माण गर्ने जिम्मा लिएको हो । सबै खोलामा २०७५ असार मसान्तसम्ममा काम सकाउने सम्झौता छ ।

सम्झौताअनुसार काम भएन नि भन्दा कन्सलटेन्सीका प्रबन्ध निर्देशक चन्द्र थकाली भन्छन्– “भौगोलिक विकटता नै प्रमुख कारण भएको र आफूहरुले समयमा काम थाले पनि हिउँदमा अत्यधिक चिसोले सिमेन्टको काम गर्न सकिएन ।” वर्षामा अत्यधिक पानी पर्ने र हिउँदमा काम गर्न नसक्नु ढिलाईको प्रमुख कारण रहेको बताईन्छ ।

उनले भने, “अब बाँकी रहेका खोलामा ७० प्रतिशत काम पूरा भइसकेको र दशैँतिहारको बीचमा सबै खोलामा पुल निर्माण गरी मनाङको सडकमा कुनै पनि खोलाले छेक थुन नगर्ने बताए ।” यो सडकखण्डको प्रमुख समस्य बनेको यस म्यार्दी खोला यात्रु र चालकको समस्याको समाधान भएको छ । जसले मनाङको यात्र सहज बनेको छ ।
रासस

प्रकाशित मिति : २२ श्रावण २०७५, मंगलबार ००:००