३० आसार, बाग्लुङ । यस आर्थिक बर्षमा बाग्लुङमा ११ वटा झोलुङ्गे पुल बनेको छ । जिल्ला समन्वय समिति र जिल्ला प्राविधिक कार्यालयले ९ वटा पुल निर्माण भएको छ । यसैगरि ‘टिबिएसयू÷हेल्भेटास’ पोखराको आर्थिक सहयोगमा थप २ वटा पुल निर्माण भएको छ ।
३ करोड १५ लाख रुपैयाँ लागतमा बनेको पुलहरूबाट ११ हजार ७ सय जनसंख्या प्रत्यक्ष लाभान्वित भएको छ । जिल्ला प्राविधिक कार्यालयका अनुसार झोलुंङ्गे पुल क्षेत्रगत कार्यक्रमअन्तर्गत गलकोट नगरपालिका–१० पाण्डवखानीको ल्याङ्गुरेघाट, ताराखोला गाउँपालिका–२ अर्गलको बराहघाटखोला र वडा नं ३ अमरभूमिको खालीखोलाघाटमा पुल निर्माण भएको छ ।
यस्तै जैमिनी नगरपालिकाका दमेकस्थित जुठेखाल्टाघाट र कौशिनीघाट, ढोरपाटन नगरपालिका, अधिकारीचौरको बुढाथोकघाट, बोवाङको सुप्राङ सिप्रुघाट, बरेङ गाउँपालिका, सल्यानको थप्लुङघाट र धुल्लुबाँस्कोटको लुग्दीखोलाघाटमा पुल बनेको हो ।
स्वीट्जरल्याण्ड सरकारको दातृ निकाय ‘टिबिएसयू-हेल्भेटास’ पोखराको आर्थिक तथा प्राविधिक सहयोगमा ढोरपाटन नगरपालिका–६ को गादीखोला र ओख्रेनीघाटमा पुन निर्माण भएको हो । ती दुवै पुलमा ढोरपाटन नगरपालिकाले पनि १५ प्रतिशतका दरले आर्थिक सहयोग गरेको छ भने दुई प्रतिशत जनश्रमदान परेको छ ।
२ वर्षअघिको बाढीले दुवै पुल बगाएपछि सोही ठाउँमा नयाँ पुल निर्माण गरिएको हो । गादीखोला र तीनखेत जोड्ने झोलुंगे पुल बनेपछि भण्डारी गाउँ, कुदुम, पानीपोखरालगायत बस्ती लाभान्वित भएको निर्माण समितिका अध्यक्ष तेजेन्द्र थापाले बताए ।
११ वटै पुल निर्माणमा व्यवस्थापन र मध्यस्तता भीमापोखरा युवा क्लब (बिवाइसी) बागलुङले गरेको थियो । क्लबका सामाजिक परिचालक प्रेम केसीका अनुसार चालू आवभित्रै पुल निर्माण गर्ने लक्ष्य पूरा भएको बताउँदै आगामी आवमा थप ६ वटा पुल निर्माणका लागि सर्वेक्षण भइसकेको जानकारी दिए ।
‘बिवाइसी’ बागलुङले गरेको सर्वेक्षणअनुसार जिल्लामा ४ सय १० झोलुंगे पुल छन् । तीमध्ये २०० पुल जीर्ण भई पुनःनिर्माणको पखाईमा छन् । रासस



प्रतिक्रिया