२२ असार, पोखरा । प्रदेश नं ४ को शुक्रबार बसेको प्रदेशसभा बैठकले प्रदेशको नाम गण्डकी राख्ने प्रस्तावलाई दुई तिहाइ बहुमतले पारित गरेको छ ।
प्रदेशसभा सदस्य मायानाथ अधिकारीले प्रदेशको नाम गण्डकी राखियोस् भन्दै गरेको प्रस्ताव एवं सदस्य मणिभद्र शर्मा कँडेल, गायत्री गुरुङ र कृष्ण थापाको समर्थनलाई बहुमतले पारित गरेको हो । बैठकमा प्रदेशसभाका कूल ५९ सदस्यमध्ये उपस्थित ५६ सदस्यमध्ये गण्डकी नाम हुनुपर्ने पक्षमा ५४ जनाले मतदान गरे भने विपक्षमा दुई मत परेको थियो ।
गण्डकी नामका पक्षमा सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपा सहित प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र राष्ट्रिय जनमोर्चाका सदस्यले मतदान गरे भने विपक्षमा नयाँ शक्ति पार्टीका सदस्यले मतदान गरे ।
यसअघि प्रदेशको नामाङ्कन विषयको छलफलमा सहभागी हुँदै अधिकांश सदस्यले सबै जातजाति भाषाभाषीको पहिचान एवं भूगोललाई गण्डकीले जोड्ने धारणा राखे । प्रदेशसभा सदस्य एवं प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्ब्बा गुरुङले सबैको अपनत्व हुने किसिमबाट प्रदेशको नाम गण्डकी राख्ने पक्षमा पुगिएको तथा भूगोल, जाति, भाषा एवं राजनीतिक रुपले सबैभन्दा उपयुक्त नाम गण्डकी रहेको बताए ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका तर्फबाट कुमार खड्काले गण्डकी हाम्रो सभ्यतासमेत भएको बताउँदै यसले सबैको पहिचान र समार्थ्य बोकेको बताए । राष्ट्रिय जनमोर्चाका पियारी थापाले गण्डकी यस क्षेत्रको धार्मिक, सांस्कृतिक लगायत हरेक पक्षसंग जोडिएकाले प्रदेशको नाम उपयुक्त हुने बताए ।
बैठकमा प्रदेशसभा सदस्य हरिबहादुर चुमान, विकास लम्साल, मेखलाल श्रेष्ठ, रामजीप्रसाद बराल, दीपक थापा, लक्ष्मी सुनार, पुष्पा केसी, दीपक कोइराला, धनमाया लामा, रोशनबहादुर गाहा, ओमकला गौतम, गायत्री गुरुङ, मनबहादुर गुरुङ, प्रकाशचन्द्र दवाडी र इन्द्रधारा विष्टले प्रदेशको नामाङ्कन सम्बन्धमा आआफ्ना धारणा राखे ।
रासस

प्रतिक्रिया