१३ असार, हुम्ला । सिमीकोट गाउँपालिकाले आर्थिक वर्ष ०७५/०७६ को लागि नयाँ नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । दोस्रो, गाउँसभाले सडक, शिक्षा, स्वास्थ्य, कृषि, विद्युत्, खानेपानी समेतलाई प्राथमिकता दिइएको छ ।
मंगलबार आयोजित कार्यक्रममा सिमिकोट गाउँपालिकाका उपाध्यक्ष वली रावतले ३४ करोड २२ लाख ११ हजार बराबरको बजेट प्रस्तुत गरे, जसमा एक करोड एक लाख ११ हजार राजस्व असुली गर्ने लक्ष्य राखिएको छ ।
गाउँपालिकाले विद्यालय र सडक सञ्जाल निर्माणलाई पहिलो प्राथमिकतामा राखेको छ । सिमीकोट देखि धारापानी सम्म सडक निर्माणको लागि ९१ लाख बजेट छुट्याइएको छ । प्रत्येक वडामा सडक, रोजगार र एक घर एक बिरुवाको अवधारणा पनि ल्याइएको छ ।
उक्त गाउँसभा सिमिकोट गाउँसभाका अध्यक्ष पदमबहादुर लामाको अध्यक्षतामा सञ्चालन भएको थियो ।
अन्तर्राष्ट्रिय लागूपदार्थविरुद्धको दिवस
यसैबीच, जिल्ला प्रहरी कार्यालय र सामुदायिक सेवा केन्द्रको संयुक्त आयोजनामा अन्तर्राष्ट्रिय लागूपदार्थ तथा अवैध तस्करी विरुद्धको दिवस विभिन्न कार्यक्रम सहित सम्पन्न भएको छ ।
सदरमुकाम सिमीकोट बजारमा लागूपदार्थ विरोधी नारासहितको ¥यालीमा राजनीतिक दल, स्थानीय तहका पदाधिकारी, नेपाल प्रहरी, निजामती कर्मचारी, विद्यालयका शिक्षक, व्यापारी समेतको उपस्थिति रहेको थियो ।
प्रजिअ माधवप्रसाद ढुंगानाको अध्यक्षतामा भएको उक्त कार्यक्रममा मंगलबार देखि कसैले पनि लागूपदार्थ सेवन नगर्ने प्रतिबद्धता व्यक्त गरिएको थियो ।
रासस




प्रतिक्रिया