१३ असार, डडेल्धुरा । विद्यार्थीको पढाई क्षमता विकास गर्न डडेल्धुराका बिद्यार्थीहरूलाई सौर्य टुकी वितरण गरिएको छ । वैकल्पिक ऊर्जा प्रवर्धनको शैक्षिक उज्यालो कार्यक्रमअन्तर्गत अमरगढी नगरपालिका र नवदुर्गा गाउँपालिका विद्यालयहरूमा टुकी बितरण गरिएको हो ।
अमरगढी नगरपालिकाभित्रका सबै ६ वटा र नवदुर्गा गाउँपालिकाका २ माध्यामिक विद्यालयमा अध्ययनरत ५९४ विद्यार्थीलाई सोलार टुकी वितरण गरिएको अमरगढी नगरपालिकाका सूचना अधिकृत लालबहादुर साउदले जानकारी दिए ।
आर्थिक अवस्था कमजोर भएका जेहेन्दार विद्यार्थीलाई टुकी दिइएको अमरगढी नगरपालिकाका प्रमुख विश्वेश्वरप्रसाद ओझाले बताए । औषतमा एक विद्यालयबाट कक्षा ९ र १० मा अध्ययनरत ५० जना विद्यार्थीलाई टुकी दिइने भनिए पनि विद्यालयले छनोट गर्दा गरीब, जेहेन्दार विद्यार्थी संख्या बढी हुन आएपछि टुकी पनि बढाइएको ओझाले बताए ।
टुकी वितरणअन्तर्गत मंगलबार अमरगढी सदरमुकाम खलंगामा रहेको महेन्द्र नमूना माविका ६३ जना विद्यार्थीलाई वितरण गरिएको अमरगढी नगरपालिकाले जनाएको छ ।
बेलाबेलामा बत्ती गइरहने भएकाले सोलार टुकीले गृहकार्य गर्न तथा अध्ययनमा सहयोग मिल्ने भन्दै विद्यार्थी खुशी भएका छन् । अँध्यारोका कारण पढ्नबाट बञ्चित नहुने विद्यार्थीको भनाइ छ । एक वर्षको वारेण्टी भएका सौर्य टुकीबाट दुईवटा बल्व बाल्न सकिने वैकल्पिक ऊर्जा प्रवद्र्धनका प्रतिनिधि लालमणि पन्तले बताए ।
दिनभरि घाममा राखे रातभरि दुईवटा चीम बाल्न मिल्ने पन्तले बताए । सौर्य टुकीको अहिलेको बजार मूल्य साढे तीन हजार रुपैयाँदेखि ४ हजार रुपैयाँ पर्नेछ । रासस




प्रतिक्रिया