७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पर्यटकीयस्थल ठमेलका सडकमा खाल्डैखाल्डा, हिड्न पनि समस्या



 

अच्युत रेग्मी
१२ असार, काठमाडौं ।

मुलुककै प्रमुख पर्यटकीय क्षेत्रको रुपमा रहेको ठमेल यतिखेर खाल्डैखाल्डा भएको छ । दैनिक हजारौँ स्वदेशी तथा विदेशी पर्यटक आवतजावत गर्ने कामनपा वडा नं २६ मा पर्ने ठमेल क्षेत्र बर्खा लागेसंगै बाटोमा परेको पानीका कारण कुरुप बन्दै गएको हो ।

एक दशकदेखि ठमेलको क्वावहालमा मालाको व्यवसाय गर्दै आएका ओखलढुङ्गाका भेषबहादुर गुरुङ ठमेलबाट असन जाने बाटोमा ढल निर्माण गर्न जथाभावी खनेकाले व्यवसाय घटेको बताउछन् ।

“केही महिना अगाडि मेलम्चीको पानी आउने भनेर बाटो खनियो, अहिले फेरी ढल निर्माणका लागि बाटो खन्दा समस्या परेको छ,” उनी भन्छन् । बाटोमा परेको खाल्डाखुल्डीका कारण विदेशी पाहुनालाई हिँड्न समेत समस्या परेको उनको भनाई छ ।

ठमेलको अमृतमार्गमा दुई दशकदेखि पुस्तक पसल सञ्चालन गर्दै आएका किरणदेव घिमिरे बाटो विस्तारका क्रममा जथाभावी खनेका कारण आवतजावतमा समस्या परेको बताउछन् । “बाटो विस्तारका कारण व्यवसायमा समेत समस्या परेको छ,” उनी भन्छन् ।

अमृतमार्ग अगाडि व्यास ट्राभल्स एण्ड टुर्स सञ्चालन गर्दै आएका दीपक भट्टराई ठमेल क्षेत्रमा जथाभावी खनिएका बाटोले गर्दा मुलुकको पर्यटन विकासमा ठूलो असर पुगेको बताए । “सरकारले सन् २०२० सम्म २० लाख पर्यटक भित्र्याउने भनेको छ, तर ठमेलभित्रको बाटोको अवस्था यस्तो छ, कसरी पर्यटन क्षेत्रको विकास हुन्छ रु,” उनी प्रश्न गर्छन् ।

माथि उल्लेखित व्यवसायी प्रतिनिधि पात्रमात्र हुन् । यतिबेला ठमेल क्षेत्रमा व्यापार व्यवसाय गर्दै आएका अधिकांश व्यवसायीलाई बाटोले गर्दा समस्या उत्पन्न गराएको छ । अहिले नर्सरी चोकबाट असन जाने क्वावहाल मार्ग, क्षेत्रपाटी हुँदै ठँहिटी जाने चोक, अमृत क्याम्पसदेखि सञ्चयकोष सम्मको बाटो विस्तार तथा कालोपत्रे नहुँदा स्वदेशी तथा विदेशी पर्यटकलाई हिँडडुल गर्न समस्या परेको छ ।

स्वदेशी तथा विदेशी पर्यटकको प्रमुख गन्तव्यका रुपमा रहेको ठमेलमा विस २०७४ कात्तिक ६ गतेदेखि सवारीसाधन निषेधित क्षेत्रका रुपमा विकास गरेपनि बाटोमा जम्ने पानी र खाल्डाखुल्डीले समस्या उत्पन्न गराएको हो ।

ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष समिर गुरुङ मेलम्ची खानेपानी ल्याउनका लागि बाटो विस्तार गर्दा खाल्डो परेको बताउछन् । “काठमाडौं उपत्यका खानेपानी लिमिटेडले पाइप बिच्छाउँदा तथा ढल निर्माण गर्दा बाटोको यो अवस्था आएको हो,” उनी भन्छन् ।

सञ्चयकोष अगाडि भासिएको सडक पुनःनिर्माण गरिसकिएको र बाँकी सडक पनि केही दिनमानै कालोपत्रे गरिसक्ने उनको भनाइ छ । ठमेल क्षेत्रको अधिकांश भाग कामनपा वडा नं २६ मा पर्छ ।

काठमाडौं महानगरपालिका वडा नं २६ का अध्यक्ष ख्यामराज तिवारी बाटो विस्तार र पानीका कारण ठमेल क्षेत्रमा खाल्डाखुल्डी परेको बताउछन् । “पानी परेका कारण बाटो विस्तार हुन ढिलाई भएको छ,” उनले भने ।

महानगरपालिका जतिसक्दो चाँडो उक्त सडकलाई कालोपत्र गर्ने दिशामा अगाडि बढेको उनको भनाई छ । अमृतमार्गदेखि सञ्चयकोषसम्मको बाटो विस्तार र कालोपत्र गर्नलाई महानगरपालिकाले एक करोड १० लाख बजेट विनियोजन गरिसकेको उनी बताउछन् ।

वडा नं २६ लाई उपत्यकाको नमूना वडा बनाउन वडा कार्यालय लागिपरेको र केही समयमा नै नमूना वडा बन्ने अध्यक्ष तिवारीको भनाइ छ ।
रासस

प्रकाशित मिति : १२ असार २०७५, मंगलबार ००:००