१९ मंसिर २०८२, बिहिबार | Thu Dec 4 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

साँगादेखि मनाेहरा पुलसम्म टाइम कार्ड लागू



७ असार, भक्तपुर । अरनिको राजमार्ग खण्डअन्तर्गत भक्तपुरको मनोहरा पुलदेखि साँगासम्मको सडकमा दुर्घटना बढेपछि टाइम कार्ड लागू गरेको छ ।

महानगरीय प्रहरी परिसर भक्तपुरले दुर्घटना न्यूनीकरण गर्न सार्वजनिक तथा मालबाहक सवारीसाधनमा मंगलबारदेखि टाइम कार्ड लागू गरेको छ ।

प्रहरीले मनोहरा पुलदेखि साँगासम्म सात स्थानमा प्रहरीको समूह नै परिचालन गरी सवारीसाधनको गति नाप्ने, पैदलयात्रुलाई जेब्रा क्रसिङबाट मात्रै बाटो काट्न सिकाउने, सार्वजनिक सवारी साधनलाई बस स्टपमा मात्रै रोक्न लगाउने, सडक लेनको अनिवार्य पालना गराउने अभियान सञ्चालन गरेको छ ।

प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक हिमालय कुमार श्रेष्ठले ६ लेन सडक र साँगासम्मको सडक दुर्घटनाको दृष्टिकोणले ज्यादै जोखिमपूर्ण भएकाले दुर्घटना न्यूनीकरणका लागि १० दिने अभियान शुरु गरेको जानकारी दिए ।

“७ ठाउँमा प्रहरी परिचालन गरेर अभियान शुरु गरेका छौँ । अभियानमा खटिएका प्रहरीले पर्चा बाँड्ने, सवारी चालकदेखि पैदलयात्रुसम्मलाई परामर्श दिँदैछौं,” उनले भने, “बस स्टपमा नरोक्ने, जथाभावी सवारी हाक्ने, तीव्रगतिमा सवारी चलाउने, लेन पालना नगर्ने सवारीसाधनलाई तत्कालै कारबाही गर्नेछौं ।”

टिपरको ठक्करबाट एकैपटक तीन जनाको ज्यान गएपछि प्रहरीले सोही दिनदेखि टाइम कार्ड लागू गरेको उनले जानकारी दिए ।

प्रहरीले सडक दुर्घटनाको अर्को कारण छाडा गाईबस्तु भएकाले हटाउन सम्बन्धित नगरपालिकाहरूलाई अनुरोध गरेको पनि उनले जानकारी दिए । नगरपालिकाहरूले चासो नदिएकाले प्रहरी आफैं हटाउन अग्रसर हुने जानकारी दिए । रासस

प्रकाशित मिति : ७ असार २०७५, बिहिबार ००:००