६ असार, बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले शिक्षा, स्वास्थ्य, कृषि र पूर्वाधार विकासलाई प्राथमिकतामा राखेर आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।
बुधबारबाट सुरू तेस्रो नगरसभामा नीति तथा कार्यक्रम ‘शैक्षिक र भौतिक सुधारः बालबालिका विद्यालय प्रवेशको पहिलो आधार’ भन्ने नारा पनि तय गरेको छ । यही नाराका अधारमा शिक्षा क्षेत्रको सुधार गर्न स्पष्ट दृष्टिकोण, प्रतिबद्ध र लगनशील भई अगाडि बढ्ने दाबी नगरप्रमुख बासुदेव घिमिरेले दाबी गरे ।
नगरपालिकाले सामुदायिक विद्यालयमा दिवा खाजा कार्यक्रम शुरु गरिसकेको छ भने विद्यार्थीको आवतजावतका लागि सवारीसाधन उपलब्ध गराउने कार्यक्रम अघि सारेको छ ।
आगामी तीन वर्षभित्र सामुदायिक र संस्थागत विद्यालय बीचको दूरी समान गर्ने, ‘फल्स सिलिङ’ राखेर विद्यार्र्थीलाई टिनको प्रत्यक्ष छानामुनी बस्नुपर्ने बाध्यता अन्त्य गरिने पनि नीति तथा कार्यक्रममा उल्लेख छ ।
यसैगरि वडा नं. १७ का बासिन्दालाई स्वास्थ्य बीमामा सहुलियत प्याकेज पनि ल्याएको छ । बीमाका लागी लाग्ने शुल्कमा ३० प्रतिशत नगरपालिकाले बेर्होनेछ ।
‘एक घर, एक करेसाबारी: पकेट क्षेत्रमा व्यावसायिक तरकारी’ भन्ने नाराका साथ वडा नं– १४ लाई “तरकारी पकेट क्षेत्र” र अन्य वडामा “एक घर एक करेसाबारी” को नीति अवलम्बन गर्ने पनि कार्यक्रममा उल्लेख छ । साथै, आगामी एक बर्षभित्र तरकारीमा नगरपालिका आत्मनिर्भर हुने लक्ष्यसमेत राखेको छ ।
कृषि तथा पशुपालनमा अनुदानका विभिन्न कार्यक्रम अघि सार्दै ‘व्यावसायिक रुपमा काम गर्ने किसानलाई नगरपालिकाको सम्मानः सबै किसानलाई उत्पादनमा आधारित अनुदान’ नीति अवलम्बन गर्ने जनाइएको छ ।
पशु बीमामा अनुदान र बाली तथा पशु संरक्षण कोषलाई थप व्यवस्थित गरिने, सहकारीखेती प्रणाली, सहकारी संघ संस्थासँगको सहकार्यमा पीपीपी मोडलको उद्योग व्यवसाय सञ्चालन गरिने पनि कार्यक्रममा उल्लेख छ ।
भैलुभुजलगायत सिँचाइ आयोजना र बोरिङहरुलाई पूर्ववत् अवस्थामा गर्न सिँचाइमा लाग्ने विद्युत् महसुलमा १० प्रतिशत अनुदान दिने व्यवस्था दिनेछ ।
सिद्धार्थ राजमार्ग अन्तर्गत जोगिकुटी र कोटिहवामा बुद्धमूर्ति सहितको आकर्षक “प्रवेशद्वार” निर्माण गर्ने र खरको छाना भएका घरपरिवारलाई जस्तापाताको छानामुनि ल्याउन कार्यविधि बनाएर जस्तापातामा लाग्ने रकमको ३० प्रतिशत अनुदान दिइने नीति नगरपालिकाको छ ।
भूमिहीन, अव्यवस्थित बसोवासी र सुकुम्बासीलाई सुरक्षित बसोवासको लागि सामूहिक आवास निर्माणको सम्भाव्यता अध्ययन गरिने पनि उल्लेख छ ।
स्वयंसेवक परिचालन रणनीति तय गरिने, बढीमा दुई छोरी मात्र जन्माई बन्ध्याकरण गर्ने दम्पतिलाई सम्मान गरिने, एकल महिलाको नाममा सञ्चालित व्यवसाय र एकीकृत सम्पत्ति करमा १५ प्रतिशत छुट उपलब्ध गराइने पनि नीति तथा कार्यक्रममा उल्लेख छ ।
साउन १ गतेदेखि “एकीकृत सम्पत्ति कर” लागू गरी संकलित राजश्वको २५ प्रतिशत रकम सम्बन्धित वडाको विकासका लागि नै खर्च गरिने पनि कार्यक्रममा उल्लेख छ । यसैगरि सबैभन्दा धेरै कर तिर्ने करदातालाई ‘उत्कृष्ट करदाता’ को रुपमा पुरस्कृत गरिने पनि उल्लेख छ । रासस
प्रतिक्रिया