६ असार, रोल्पा । दाङबाट रोल्पाको थवाङ जोड्ने शहीद मार्गको दुईखोली—खरिबोट सडकखण्डको विभिन्न स्थानमा नेपाली सेनाले कडा चट्टान फोरेर बाटो चौडा गरेको छ ।
सडकखण्डको विभिन्न स्थानमा रहेका ठूलठूला कडा चट्टानले ठूला सवारीसाधन आवतजावतमा मुस्किल पर्दै आएको थियो । बर्षायाममा पनि पहिरो झरेर सडक अवरुद्ध हुँदा स्थानीयले समस्या भोग्दै आएका थिए ।
नेपाली सेनाको खड्ग दल गणबाट खटिई गएका सेनाले विष्फोटक पदार्थ प्रयोग गरी सडक चौडा पारेको खडग दल गण, रोल्पाका गणपति अजय गुरुङले जानकारी दिए । विभिन्न खण्डमा गरी ७ सय मिटरभन्दा बढी कडा चट्टान फोडेर सडक चौडा गरिएको छ । सडक विस्तारसँगै विपद्को समयमा रेस्क्यु गर्नसमेत सहज हुने गणपति गुरुङले बताए ।
सडक निर्माणसँगै बस, ट्रकजस्ता ठूला सवारीसाधनसमेत सहजै आवतजावत हँुदा उत्तरी रोल्पाका कुरेली, मिरुल, थवाङका साथै रुकुम पूर्वका जनता समेत लाभान्वित भएका छन् । रुकुमको मैकोट हँुदै गएको मध्यपहाडी लोकमार्गसंग रोल्पालाई जोड्ने एकमात्र सडकका रुपमा शहीद मार्ग रहेको छ ।
स्थानीयबासीको सहकार्यमा नेपाली सेनाको खड्ग दल गणले यसअघि जिल्लाका विभिन्न स्थानमा विकास निर्माण कार्यमा सहयोग गर्दै आएको छ ।
गणले उत्तरी रोल्पाको वीर बलभद्र माविमा कक्षा कोठा थप, फिल्ड निर्माण गरेको छ । यसैगरि तारा मावि, वामरुकमा सुविधासम्पन्न शौचालय बनाएको छ । रासस




प्रतिक्रिया