८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कुहुँको महभीरमा सडक पुग्यो



 

२९ जेठ, बेनी– म्याग्दी । मंगला गाउँपालिका १ कुहुँको महभिर सडक सञ्जालसंग जोडिएको छ । सडक सञ्जालले बस्तीलाई जोड्ने गाउँपालिकाको अभियान अन्तर्गत कुहुँ–कमलजैशी थान हुँदै महभिरसम्म पुगेको सडकको वडाध्यक्ष डेकबहादुर राम्जालीले सोमबार उद्घाटन गरे ।

सडक उद्घाटन कार्यक्रममा वडाध्यक्ष राम्जालीले वडाभित्रका बस्तीमा सडक सञ्जालको विस्तार, मर्मतमा प्राथमिकता दिएको बताए । उनले सडक सञ्जालसंगै शिक्षा, स्वास्थ्य, सामाजिक कार्यमा पर्याप्त बजेटको अभावले समस्या भइरहेकाले आगामी आवमा प्राथमिकता दिएर गाउँपालिकामा बजेट माग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

गाउँपालिकाको पाँच लाखको लागतमा करीब एक किलोमिटर सडक उद्घाटनसंगै स्थानीयले जनप्रतिनिधिलाई सम्मान समेत गरेका थिए । करीब ८५ घरधुरी रहेको गाउँका बासिन्दालाई सडक सञ्जालले जोडिएपछि आवतजावतमा सहज भएको वडासदस्य दिलकुमारी खत्रीले बताइन् । “एकै वर्ष सबै समस्या समाधान गर्न सकिएको छैन, प्राथमिकताको आधारमा समस्याको समाधान भइरहेको छ” उनले भनिन् ।

सडक विस्तारमा प्रवासमा रहेका कुहुँवासीले ७० हजार आर्थिक सहयोग गरेका थिए । सडक विस्तार गर्ने क्रममा करीब २ लाख अपुग भएको सडक निर्माण उपभोक्ता समितिले जनाएको छ । अपुग रकमका लागि गाउँपालिकामा माग गर्ने तथा चन्दा संकलन गरिनेछ ।

अब पर्यटकीय तथा धार्मिक महत्व बोकेको कुहुँका विभिन्न बस्तीमा सडक पुगेको छ । सडक मर्मत तथा स्तरोन्नति कोषका लागि समेत वडाले योजना बनाएको छ ।
रासस

प्रकाशित मिति : २९ जेष्ठ २०७५, मंगलबार ००:००