Logo

चाँदनीफाँटा–जडेपानी सडकः स्थानीयले दिए निःशुल्क जग्गा



 

शेरबहादुर सिंह
२८ जेठ, भीमदत्तनगर ।

कञ्चनपुर बेदकोट नगरपालिका २ स्थित चाँदनीफाँटा र जडेपानी जोड्ने सडक खुलाउनका लागि २० जना स्थानीयले निःशुल्क जग्गा दिएका छन् ।

बस्ती बसेको करीब ५ दशकपछि सो सडक खुलेपछि स्थानीयवासी हर्षित भएका छन् । लामो समयसम्म खेतको आलीमा हिँड्डुल गर्दै आएका स्थानीयले सडकमा पर्ने जग्गा दिए पछि सो सडक सञ्चालनमा आएको ८३ वर्षीय स्थानीय मनिदत्त भट्टले बताए ।

“सडक नहुँदा बन्धक जस्तै भएको थियौं,” उनले भने “सडक बनाउने भनेपछि खुशी हुँदै मैले पनि जग्गा दिए ।” २०२४ सालमा बसाई सरेर यहाँ आएका भट्टले सडक नभएकै कारण विगतमा धेरै पीडा भोग्नुपरेको स्मरण गर्दै उक्त सडक नहुँदा ५ मिनेटको दूरी पार गर्न दुई घण्टा हिँड्नुपर्ने बाध्यता रहेको बताए ।

स्थानीय तहको अग्रसरताका कारण पनि गाउँमा सडक, बिजुली, खानेपानी लगायतका पूर्वाधार आउन थालेको उनको भनाइ छ । “सडक सञ्जालसंग गाउँ जोडिँदा साच्चै सिंहदरबार गाउँमै आएको भान भयो,” उनले भने, “अब गाउँका बालबालिकाले पनि स्कूल जाँदा दुःख भोग्नु पर्ने छैन ।”

स्थानीय बैजनाथ माध्यमिक विद्यालयका प्राचार्य थिरेन्द्रचन्द्र भट्टले सडक खुलेपछि विद्यार्थीलाई विद्यालय आवतजावतमा सहज भएको बताउँदै भने, “विद्यार्थीसंगै सडक विस्तार हुँदा यहाँका झण्डै १०० परिवारलाई सहज भएको छ ।” सडक नहुँदा विद्यार्थी सधैँ स्कूल ढिलो पुग्ने गरेको बताए ।

स्थानीय जगदीश विष्ट पनि सडक खुलेपछि खुशी भएको बताउछन् । आफूले पनि सडक खुलाउन जग्गा दिएको जानकारी दिँदै उनले सडक खुल्दा गाउँ नै हर्षित भएको बताए ।

यहाँको बेतकोट नगरपालिका २ का वडाध्यक्ष नरेश सिंहले बस्ती लामो समयअघि बसेको भए पनि सडक पहुँचबाट टाढा रहेको बताए । उनले वडा कार्यालयको सक्रियता र स्थानीयको सहयोगमा दुई किलोमिटर सडक बनाइएको बताए ।

“स्थानीयवासीसंगै यहाँ स्थापना हुने दैजी छेला आद्योगिक क्षेत्र जान पनि यो सडक छिटो हुन्छ,” वडाध्यक्ष सिंहले भने, “स्थानीयलाई पनि यो सडकले सदरमुकाम र विद्यालय जान सजिलो भयो ।”

उनले स्थानीयले दिएको जग्गामा सडक खोलिएको बताउँदै उक्त सडकमा ५ लाख बराबरको कालोपत्रे हाल्ने बताए । लालपूर्जा भएको जग्गामा पनि सडक बनाउन स्थानीयले देखाएको भावनाको वडाध्यक्ष सिंहले सम्मान समेत व्यक्त गरे ।

बेतकोट नगरपालिकाले नगरभित्र सडक नभएको ठाउँमा सडक विस्तारका साथै साँघुरो सडकलाई फराकिलो बनाउने, कालोपत्रे सडक भएको ठाउँमा स्तरोन्नति गर्ने लगायतका कामलाई तीव्रता दिएको छ ।
रासस

प्रतिक्रिया दिनुहोस्