१४ जेठ, डडेल्धुरा ।
डडेल्धुरा अमरगढी नगरपालिकामा नै २६२ बालबालिकामा कुपोषण भेटिएको छ । अमरगढी नगरपालिकामा रहेका ५ वर्षमुनिका २ हजार ४ जना बालबालिकालाई परीक्षण गर्दा उक्त ठूलो संख्यामा कुपोषण भेटिएको हो ।
२ हजार ४०० बालबालिकालाई जाँच गर्दा २६१ मा कुपोषण भेटिएको हो । जसमध्ये २६ जना बालबालिकामा कडा शीघ्र कुपोषण देखिएको जनाइएको छ भने २३५ बालबालिकामा मध्यम शीघ्र कुपोषण देखिएको अमरगढी स्वास्थ्य शाखाका प्रमुख लोकराज पनेरुले जानकारी दिए ।
अमरगढी नगरपालिकाभित्र छ वटा स्वास्थ्य संस्थाले काम गरिरहेका छन् । उनीहरुले दिएको मासिक प्रतिवेदन अनुसार २६ जना अर्थात् एक प्रतिशत बालबालिकामा कडा र २३५ अर्थात् १२ प्रतिशत बालबालिकामा मध्यम शीघ्र कुपोषण देखिएको स्वास्थ्य प्रमुख पनेरुले जानकारी गराए ।
वर्षौंदेखि सरकारी गैरसरकारी संस्थाले बालबालिका र स्वास्थ्यको क्षेत्रमा काम गरिरहेका भए पनि नगरपालिकाभित्र नै कुपोषित बच्चाको तथ्याङ्क सार्वजनिक हुनुले उनीहरुको कार्यमा प्रश्न खडा भएको सर्वसाधारणको बुझाइ छ ।
बालबालिकाको कुपोषण जाँच गर्दा पाखुरामा नापिने फितामा ३ वटा रङ रहेका हुन्छन् जसमा पहेलो, हरियो र रातो रङले क्रमशः मन्द, सामान्य र कडा कुपोषणका रुपहरु निर्धारण गर्छ । कुपोषित बालबालिकाहरु उमेरअनुसार तौल र उचाइ पनि नबढ्ने होचा र पुड्का हुनाका साथै गर्भवती महिलामा रक्तअल्पताका कारणले समेत बालबालिकामा कुपोषणको समस्या देखिने जनाइएको छ ।
साथै बच्चा जन्मेको छ महिनासम्म आमाको दूधमात्रै खुवाउनु पर्ने उपक्षेत्रीय अस्पताल डडेल्धुराका स्वास्थ्यकर्मीहरु बताउँछन् । आमाको दूध खान नपाएर पनि धेरै बालबालिका कुपोषित भएका हुन्छन् । बच्चाका लागि अभिभावकले विशेष ध्यान दिनुपर्ने सुझाव दिएका छन् । एउटा बच्चाले कम्तिमा पनि २ वर्षसम्म आमाको दूध खान पाउनुपर्ने हुन्छ ।
विभिन्न रोगका कारणले पनि बालबालिका कुपोषित हुने गरेको तथ्याङ्कले जनाएको छ । उपक्षेत्रीय अस्पताल डडेल्धुरामा पनि कुपोषित बच्चाको उपचारका लागि कुपोषण गृह निर्माण गरी उपचारको थालनी गरिएको छ । कुपोषित भएको शंका लाग्नेबित्तिकै समयमै उपचार गराए कुपोषण घटाउन सकिने उनी बताउँछन् ।
रासस
प्रतिक्रिया