१० बैशाख २०८१, सोमबार | Mon Apr 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

रत्ननगर नगरपालिकाले ‘कल्चरल भिलेज’ बनाउने



११, जेठ, चितवन । चितवनको रत्ननगर नगरपालिकाले नगरको विकासका लागि महत्वाकांक्षी योजना अघि सारेको छ । जनप्रतिनिधिले शपथ लिएको एक वर्ष पूरा भएको अवसरमा नगरप्रमुख नारायण वनले बिहीबार नगरको विकासको खाका प्रस्तुत गरेका छन् ।

एक वर्षमा नगरपालिकाले प्लटिङ् रोक्ने, जग्गा बाँझो राख्नेलाई कारबाही गर्ने र सार्वजनिक जग्गा संरक्षण गर्नेलगायत काम गरेको छ ।

विहीवार सार्वजनिक सुनुवाइका क्रममा विकासका कार्यक्रमबारे जानकारी दिँदै उनले दाबी गरे, “नगर अब विकासमा अगाडि बढ्छ, नतिजामुखी काम हुन्छ ।”

रत्ननगरलाई कस्तो बनाउने भनेर स्वदेशी तथा विदेशी विज्ञसँग नगरपालिकाले छलफल गरिरहेको उनले बताए । पर्यटकीय नगर भएकाले रत्ननगरलाई सास्कृतिक ग्राम (कल्चरल भिलेज) निर्माणको प्रक्रिया अघि बढेको उनले जानकारी दिए ।

विभिन्न जातजातिका घर निर्माण गरेर आएका पर्यटकले कुन घरमा बस्न चाहन्छन् त्यहाँ राख्न सकिने गरी कल्चरल भिलेज बनाउने योजना नगरपालिकाको छ ।

यस्तै, रत्ननगर बकुलहर अस्पताललाई ५१ श्ययाको अस्पताल बनाउने, सौराहा चोकमा बसपार्क बनाउने, नमूना सडक निर्माण गर्ने योजना नगरपालिकाले अघि सारेको छ ।

अहिलेसम्म ६० बिगाहा सार्वजनिक जग्गा खोजी गरी संरक्षण गरेको भन्दै वनले अझै बाँकी २ सय बिगाहा जग्गाको खोजी भइरहेको उनले बताए ।

सभाहल, रंगशाला, सिटीहल, आधुनिक बसपार्क र स्मार्ट सिटी, शीतभण्डार निर्माणमा समेत नगरपालिका अघि बढेको दाबी छ । नगरपालिकाका हरेक सेवा सूचना प्रविधिमैत्री बनाउन लागेको भन्दै उहाँले अब ‘पेपरलेस’ अबधारणामा नगरपालिकाको काम कारवाही सञ्चालन हुने दाबी उनले दाबी गरे ।

नगरपालिकाको योजनाअनुसार खाली जमिनमा वृक्षारोपण गरिनेछ । ट्राफिक व्यवस्थापन चुस्त पारिनेछ । दिगो फोहर व्यवस्थापनमा समेत ध्यान दिएर काम अगाडि बढेको छ । कयरखोलाको कोरिडोर क्षेत्रको विकासमा समेत नगरपालिकाले ध्यान केन्द्रित गरेको छ ।

अब युवालाई विदेश नै जानुनपर्ने, यहीँ स्वरोजगार हुनका लागि ४/५ प्रतिशतमा कृषि ऋण उपलब्ध गराइने उनले घोषणा गरे ।

सुुशासन कायम राख्न शुन्य सहनशीलता अपनाइने दाबी गर्दै उनले भने, “जनप्रतिनिधि र कर्मचारीले एक रुपैयाँमात्र मागे पनि जानकारी दिनुहोस्, ठाउँका ठाउँ कारबाही गर्छौं ।”

नगरपालिकाकी उपप्रमुख विमला दुवाडीले सर्वसाधारणको सुझाव र आवश्यकताअनुसार विकासका कार्यक्रम अघि बढ्ने प्रतिबद्धता जनाइन् ।

रत्ननगर उद्योग वाणिज्य संघका अध्यक्ष राजाराम रेग्मीले विकासको आधार नै सडक भएको भन्दै बाटोको विस्तार र कालोपत्रेमा ध्यान दिन सुझाव दिए । चितवन उद्योग संघका अध्यक्ष भेषराज दवाडीले नगरपालिकालाई समृद्ध बनाउन व्यवसायीको सहयोग गर्ने प्रतिवद्धता जनाए ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) का केन्द्रीय सहकोषाध्यक्ष सोम सापकोटाले स्मार्ट सिटी बनाउन रत्ननगरलाई ‘वाइफाइ फ्रि जोन’ बनाउन सुझाव दिएका छन् । रासस

प्रकाशित मिति : ११ जेष्ठ २०७५, शुक्रबार ००:००