४ मंसिर २०८३, शुक्रबार | Fri Nov 20 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रदेशको जग बलियो हुने गरी बजेट ल्याउन सुझाव

लेखक स्थानीय खबर २५ बैशाख २०७५, मंगलबार २ मिनेट पढाइ

२५ वैशाख, बुटवल ।
प्रदेश नं ५ का लागि आर्थिक वर्ष २०७५÷७६ को बजेट तर्जुमा गरिरहेको सरकारलाई सबै पक्षसंग परामर्श गरेर मात्र बजेट निर्माण गर्न सुझाव दिइएको छ । प्रदेश सरकारको आगामी आर्थिक वर्षका लागि आउने बजेट पहिलो भएकाले प्रदेशको जग नै बलियो हुने गरी ल्याउन सुझाव दिइएको छ ।

प्रदेश सरकारलाई संघीय सरकारले करिब १५ अर्ब ४२ करोडको बजेट सिलिङ तोकिदिएको छ । रिपोर्टर्स क्लब ५ नं प्रदेशले बुटवलमा आयोजना गरेको कार्यक्रममा प्रदेशको राजश्व संकलनको दायरा अनुमान गरेर करिब २० अर्ब बराबरको बजेट ल्याउने सोच राखिएको प्रादेशिक योजना आयोगका उपाध्यक्ष डा प्रकाशकुमार श्रेष्ठले जानकारी दिए ।

अबको बजेट आगामी बजेट अनुमानको आधारमा बन्ने बताउँदै श्रेष्ठले सरकार, स्थानीय सरकार, निजी क्षेत्र, सहकारी सबै सामूहिक रुपमा अघि बढ्नु पर्ने विचार व्यक्त गरे । उनले विगतका तथ्याँक नहुँदा अनुमानका भरमा बजेट बन्ने र त्यो सहभागितामूलक हुने बताए । उनले भने– ‘संभावनाहरुबीच प्रदेश सरकार अघि बढ्छ ।’

सरकार तथा कार्यान्वयन गर्ने निकाय बन्न अझै बाँकी रहेको सन्दर्भमा बजेटको कार्यान्वयन सबैभन्दा चुनौतीपूर्ण हुने उनको भनाइ छ । प्रा डा बाबुराम ज्ञवालीले कृषि क्षेत्र, यातायात, शिक्षा, ऊर्जा, ग्रामीण विकास, कुटीर उद्योग, पानी घट्टलाई ठूला बजारसँग जोड्नुपर्ने अहिलेको आवश्यकता भएको बताए ।

नेकपा एमालेका प्रदेश सांसद भोजप्रसाद श्रेष्ठले प्रदेशको नामकरण अविलम्ब गर्न सकिए नामैले पनि विकासको छनक दिने बताए । नेपाली कांग्रेसका प्रदेश सांसद अष्टभुजा पाठकले सबै पक्षलाई नसमेटे प्रदेशको समृद्धि हासिल नहुने भएकाले विकास अभियानमा सबै दल जुट्नुपर्ने बताए ।

नेकपा माओवादी केन्द्रका प्रदेश सांसद तथा प्रमुख सचेतक दधिराम शर्माले कृषि र पर्यटन नै समृद्धिको आधार भएको बताए । उनले हिमाल, पहाड र तराई जोड्न हिल स्टेशन निर्माण गर्नुपर्ने र छरिएका बस्तीलाइ एकीकृत गर्नुपर्ने धारणा राखे । नेपाल उद्योग वाणिज्य संघका केन्द्रीय सदस्य सुरेन्द्रप्रसाद श्रेष्ठले तीव्र गतिको आर्थिक वृद्धिदर जनताको चाहना भएको बताए ।

प्रदेश सरकारले जेठ अन्तिम हप्ता नीति तथा कार्यक्रम र असार १ गते बजेट ल्याउने भएको छ ।
रासस

प्रकाशित मिति : २५ बैशाख २०७५, मंगलबार

प्रतिक्रिया ०

यो समाचारबारे तपाईंको धारणा लेख्नुहोस्। सभ्य र सम्मानजनक भाषा प्रयोग गर्नुहोस्।

अहिलेसम्म प्रतिक्रिया आएको छैन। पहिलो प्रतिक्रिया तपाईंको होस्।

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुँदैन। प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि देखिन्छ।